नेकपाको चियापानः पार्टी एकीकरण जस्तै अव्यवस्थित

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना गर्‍यो ।

काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल साँघुरो भएकाले अस्तव्यस्त देखिएको थियो । उक्त स्थानमा प्रवेश गर्नका लागि कार्यकर्ताहरुले घण्टौँ लाइन बस्नुपरेको थियो ।

लामो समय लाइन बस्नुपरेकाले केही कार्यकर्ताहरु बीचबाटै बाहिरिएका थिए । केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए । कार्यक्रमस्थलमा शौचालयको राम्रो व्यवस्था नभएकाले नेता तथा कार्यकर्ताहरु खुल्ला क्षेत्रमा शौच गर्न बाध्य भएका थिए ।

५० हजारलाई निमन्त्रणा दिइएको भनिए पनि चियापानमा २५ हजार जति मात्र उपस्थित भएको आयोजकको भनाइ छ । पार्टी एकीकरण व्यवस्थित नभए जस्तै कार्यक्रमस्थलको व्यवस्थापन पनि सशक्त देखिएको थिएन । पार्टी एकीकरण भएपछि पहिलोपटक आयोजित चियापानमा नेता तथा कार्यकर्ताको संस्कार समेत परिवर्तन भएको देखियो ।

विगतमा लालसलाम भन्दै प्रस्तुत हुनेहरुलाई यसपालि नमस्कार भन्न भ्याइनभ्याई थियो । शीर्ष नेताहरुले विगतमा झैँ नेता तथा कार्यकर्तासँग हात मिलाएको देखिएन ।

विगतमा पूर्वमाओवादी केन्द्रद्वारा भृकुटीमण्डमै आयोजित चियापानमा एकजनाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गालामा थप्ड हानेका थिए ।

सुरक्षाको कारण देखाउँदै यसपटक विशिष्ट पाहुनाहरुसँग मात्र शीर्ष नेताले हात मिलाउने कार्यक्रम बनाइएको थियो ।

चियापनमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कूटनीतिक, कलाकारलगायतको सहभागीता रहेको थियो ।

शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको चियापानमा बस्ने ठाउँको अभावमा नेता तथा कार्यकर्ता भौंतारिदै बाहिरिएका थिए ।

मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समय छुट्टयाएको थियो भने ३ देखि ५ बजेसम्म उच्च पदस्थ व्यक्तिका लागि समय छुट्टयाएको थियो । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरी लामो समय शीर्ष नेताहरुसँगै बस्नुभएको थियो ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि चियापानमा अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।  उहाँले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभयो । -नेपाल समाचारपत्र दैनिकबाट

330 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank