सिंहदरबार भित्रै एक हुन सकेन नेकपा !

शुक्रबार, मंसिर २१, २०७५



काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेको छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टी कार्यालय पूर्व एमालेको कार्यालय धुम्बाराही । तत्कालीन माओवादी केन्द्र कार्यालय जनबर्गीय संगठनका लागि छोडिएको छ ।

एकता भएको पाँच महिना भयो । तर, सिंहदरबार भित्रै नेकपा एक हुन सकेको छैन । सिंहदरबारमा भने अहिलेसम्म संसदीय दलका छुट्टा–छुट्टै कार्यालय चलिरहेका छन् । पार्टी एउटै भएपनि नेकपाका सांसदहरुको संसदीय दल भने दुईटा छन् । पार्टी एकिकरण हुनु अघि कै छुट्टाछुट्टै दुई कार्यालयलाई संसदीय दलको कार्यालयको रुपमा उपयोग गरिरहेको छ । पूर्व एमाले एमालेको कार्यालयमा जान्छन् । पूर्व माओवादी तत्कालीन माओवादी दलको कार्यालयमा जान्छन् ।

सभामुख र राष्ट्रियसभाका अध्यक्ष बाहेक नेकपाका दुई सय १२ सांसद छन् । अरु सबै गतिविधिमा सँगै हुने उनीहरु सिंहदरबार छिरेपछि भने अहिले पनि दुईतिर बाँडिन्छन र आआफ्नो पहिलेकै संसदीय दलको कार्यालय जान्छन् । तर दुबै तिर साइन बोर्ड चाहीँ नेकपाकै छ । खासमा सबै सांसद अट्ने एउटै कार्यालय नहुँदा उनीहरु दुबै कार्यालय उपयोग गरिरहेका छन् ।

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङ्ग र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा छ । अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र राष्ट्रिय सभाको दलका नेता दीना नाथ शर्मा भने पूर्व माओवादीकै संसदीय दलको कार्यालयमा बस्छन । नेता नेम्वाङ एउटै पार्टी भएर पनि दुईतिर जस्तो देखिएको स्वीकार गर्छन । उनका अनुसार ठाउँको अभावमा फरक फरक बसे पनि अबको एक महिनामा संयुक्त कार्यालय बनाएर एकै ठाउँ बस्ने तयारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments