कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

आइतवार, चैत्र १६, २०७६



काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड– १९) संक्रमणले सबैभन्दा बढी प्रभाव संयुक्त राज्य अमेरिकामा परेको छ  ।त्यहाँ यस भाइरसको कारण  संक्रमितको हुनेको संख्या विश्वभरकै उच्च  छ ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख २३ हजार २८ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । अमेरिकामा ६ लाख ५० हजार मानिसमा परीक्षण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो संक्रमण कोरोनाको उद्गमस्थल चीनको भन्दा ४१ हजार ९ सय ८९ ले बढी हो ।

चीनमा फेरि नयाँ ४५ जना संक्रमित :

दुई दिनअघि शून्यमा झरेको चीनको नयाँ संक्रमितको तथ्यांकमा हिजो ३ जना र आज ४५ जनामा देखिनुले चीनले पूर्णतः नियन्त्रणमा ल्याइसक्यो भन्ने कुरामा प्रश्न चिह्न खडा भएको अधिकारीहरूले बताएका छन् ।

युरोपमा प्रभाव :

अमेरिकापछि सबैभन्दा बढी संक्रमित इटलीका देखिएका छन् । इटलीमा ९२ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण फैलिसकेको तथ्यांक छ ।  नयाँ संक्रमणले अमेरिकालाई थप त्रसित बनाएको छ भने इटलीमा अझै पनि ठूलो संख्यामा मानवीय क्षति भइरहेको छ । गएको २४ घण्टामा इटलीमा मात्रै ८ सय ८९ जनाको ज्यान गएको छ ।

त्यसै गरी स्पेनमा ७३ हजार २ सय २३, जर्मनीमा ५७ हजार ६ सय ९५, फ्रान्समा ३७ हजार ५सय ७५ र इरानमा ३५ हजार ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

३० हजार ८ सय ५० को मृत्यु :

कोरोना भाइरसका कारण गएको २४ घण्टामा मात्रै ३ हजार ५ सय ६ जनाले ज्यान गुमाएका छन् । दैनिक आँकडा हेर्ने हो भने यो अहिलेसम्मकै उच्च संख्या हो । हिजो सार्वजनिक भएको तथ्यांकमा आज मर्नेको संख्या ३ सय २९ ले बढी रहेको छ ।

योसँगै विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ। जसमध्ये ३० हजार ८ सय ५० को मृत्यु भइसकेको छ ।

त्यसै गरी स्पेनमा ८ सय ४४, अमेरिकामा ५ सय १५, फ्रान्समा ३ सय १९, बेलायतमा २ सय ६०, इरानमा १ सय ३९, नेदरल्याण्ड्समा ९३ र जर्मनीमा ८२ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments