बाल संगठनको अनियमितताः एउटै जग्गा दुई संस्थालाई भाडामा

शनिबार, बैशाख १५, २०७५

काठमाडौं १५ बैशाख । नेपाल बाल संगठनले आफ्नो भोगचलनमा रहेको सरकारी जग्गा कानुनविपरीत एकै समय दुई संस्थालाई भाडामा दिएपछि सुरु भएको विवाद बल्झिएको छ । संगठनले १५ वर्षअघि नक्सालस्थित कार्यालय परिसरको १३ रोपनी १२ आना एक पैसा जग्गा प्रचलित नियम मिचेर कौडीको भाउमा बृहस्पति विद्या सदन नामक निजी स्कुललाई ३० वर्षका लागि भाडामा दिएको थियो ।

संगठनकै साँधमा रहेको स्कुललाई जग्गा भाडामा दिइएको विषयमा विवाद बढेपछि संगठनले एकतर्फी रूपमा सम्झौता भंग गरी सोही जग्गा २०६६ फागुन १३ गते मनोज मिश्रको तरुण निर्माण सेवा प्रालिलाई ३५ वर्षका लागि भाडामा लगाएको थियो। त्यसबापत संगठनले तरुणबाट एक करोड रुपैयाँ बुझेको थियो। लगत्तै स्कुल त्यसविरुद्ध कानुनी उपचारमा गएको थियो।

लामो अदालती दौडधुपबाट दुवै पक्षलाई फाइदा नहुने निष्कर्षमा २०७२ साउन ४ गते संगठन र सदनबीच पूरक सम्झौता भयो। १५ वर्षअघिको सोही जग्गाको भाडादर बढाई पुन: सम्झौता गरिएपछि नयाँ विवाद सतहमा आएको हो।

तरुणले २०७४ चैत १९ गते आफूले एक करोड रुपैयाँ बुझाएर भाडामा लिएको जग्गा अझै भोगचलन गर्न नपाएको भन्दै संगठनसमक्ष पत्राचार गरेको छ। ‘२०६६ फागुन १३ गते संगठनसँग सम्झौता भएको र चैत ३ गते मालपोत कार्यालयबाट रजिस्ट्रेसन पारित भएको उक्त जग्गा दिलाइदिनुहुन अनुरोध छ। करार हुँदाको समय र पछि समेत पटक–पटक गरी लगभग करोडौं रकम नेपाल बाल संगठनलाई मैले भुक्तान गरिसकेको व्यहोरा स्मरण गराउन चाहन्छु,’ प्रालिका तर्फबाट मिश्रले पत्रमा उल्लेख गरेका छन्।
काठमाडौंको नक्सालस्थित अर्बौं मूल्यको उक्त जग्गा प्रचलित विधि र प्रक्रिया नपुर्‍याई एकपछि अर्को पक्षलाई भाडामा दिने संगठनको निर्णयले विवाद मात्रै निम्त्याएको छैन, सरकारी जग्गाको उपयोगितामाथि नै प्रश्न उठाएको छ। उक्त जग्गा बृहस्पतिलाई सस्तो मूल्यमा भाडामा दिइएको विवाद छताछुल्ल भएपछि २०६६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको थियो। संगठनले २०५८ जेठ ८ मा र २०५९ भदौ ११ मा बृहस्पतिलाई एकै स्थानको जग्गा भाडामा दिए पनि दुई प्रक्रियामा भाडादर असमान रहेको भन्दै अख्तियारले जग्गा भाडामा दिने सम्झौता रद्द गर्न निर्देशन दिएको थियो। कान्तिपुरबाट

54 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank