चीनमा कोरोना भाइरस जोखिम उच्च, ८० जनाले ज्यान गुमाए

सोमवार, माघ १३, २०७६



काठमाडौं । चीनमा फैलिएको कोरोनो भाइरसको संक्रमण बढ्दै गएको छ ।  चीनमा कोरोना भाइसबाट मर्नेको संख्या ८० पुगेको चिनिया सरकारी संञ्चार माध्यमले जनाएका छन । हाल सम्म तीन हजार व्यक्तिहरुमा संक्रमण फैलिएको जनाइएको छ ।

संक्रमणबाट एक चिकित्सकको समेत ज्यान गइसकेको छ । संक्रमणलाई मध्यनजर गर्दै वुहान प्रान्तमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ।  सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्। चीन सहित थाईल्यान्ड अमेरिका, अस्ट्रेलिया,सिङ्गापुर, ताइवान, मलेशिया, फ्रान्स, जापान, दक्षिण कोरिया, भियतनाम, नेपाल, क्यानडा लगायतका देशहरुमा संक्रमण लागेका व्यक्तिहरुको पहिचान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले अहिले देखिएको नयाँ भाइरसको सङ्क्रमण चीनको लागि सङ्कटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको बताएको छ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिइन ।उनका अनुसार कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले सोमबारदेखि परीक्षण गर्ने तयारी छ । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने पनि उनले जनाएकि छन ।

यसैबीच चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । चीनबाट आएका व्यक्तिमा सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments