कोरोना महामारी : एकै दिनमा ४३ सय बढीको मृत्यु, ७३ हजार संक्रमित

बुधबार, चैत्र १९, २०७६



काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस(कोभिड-१९)को संक्रमणदर दिनानुदिन बढ्दो छ । पछिल्लो २४ घन्टामा विश्वभर थप ४ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ भने ७३ हजार ७ सय १८ नयाँ संक्रमित थपिएका छन् । यो यस भाइरसबाट विश्वमा एकै दिनमा भएको सबैभन्दा बढी मृत्यु र संक्रमण हो ।

कोरोना भाइरसको नयाँ केन्द्र अमेरिकामा एकै दिनमा ७ सय ४८ जनाको मृत्यु भएको छ भने २४ हजार ७ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगेको छ भने एक लाख ८८ हजार ५ सय ३० जना संक्रमित भएका छन् । अमेरिकाले पनि कोरोनाबाट मृत्यु हुनेमा चीनलाई उछिनेको छ ।

यसअघि मंगलबार नै संक्रमित हुनेको संख्या चीनमा भन्दा दोब्बर बढी भएको थियो । कोरोना भाइरसको उत्पतिथलो चीनमा भने नयाँ संक्रमित र मृत्यु हुनेको संख्या थपिएको छैन । चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५ सय १८ रहेको छ भने ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

अमेरिका पछि इटलीको अवस्था भयावह छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसले ज्यान गुमाएको इटलीमा पछिल्लो २४ घन्टामा मात्रै थप ८ सय ३७ जनाको मृत्यु भएको छ । इटलीमा मृत्यु हुनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।

यता स्पेनमा पनि केही दिनदेखि मृत्युदर उच्च छ । स्पेनमा पछिल्लो २४ घन्टामा ७ सय ४८ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय ६७ जनमा नयाँ संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ भने ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् ।

अर्को युरोपेली देश फ्रान्समा पनि मृत्युदर उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा फ्रान्समा ४ सय ९९ जनाले ज्यान गुमाएका छन् भने७ हजार ५ सय ७८ जनामा नयाँ संक्रमण देखिएको छ । यो सँगै फ्रान्सले पनि मृत्यु संख्यामा चीनलाई उछिनेको छ । त्यहाँ ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा २ हजार ८९८, बेलायतमा १ हजार ७ सय ८९ जना, जर्मनीमा ७ सय ७५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ४६ पुगेको छ भने ८ लाख ५८ हजार ३ सय ७७ जना संक्रमित भएका छन् । अहिलेसम्म एक लाख ७७ हजार ९३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments