चीनमा रहेका नेपाली उद्धार गर्न शनिबार दिउँसो विमान जाँदै

शुक्रबार, फाल्गुन २, २०७६



काठमाडौं । विश्वमा आतंक मच्चाईरहेको नोवेल कोरना भाइरसको प्रभावबाट नेपाल पनि अछुतो छैन । नेपाल सरकारले कोरना प्रभावित चीनियाँ क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई लिन शनिबार विमान पठाउने भएको छ ।

वायुसेवा निगमकी सह प्रवक्ता अर्चना खड्काले शनिबार दिउँसो पौने तीन बजे चीनमा रहेका नेपाली नागरिकको उद्धारका लागि विमान जाने बताइन् । उनले भनिन्, “विमान शनिबार दिउँसो पौने तीन बजे नेपालबाट प्रस्थान गर्ने र चीनबाट आइतबार राति साढे २ बजे फिर्ता हुने तालिका रहेको छ ।”

विमानमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको टोली जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजका चालक दलका १६ सदस्यसहितको टोलीलाई तालिम दिइसकेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय, परराष्ट्र, गृह, रक्षा, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । उद्धार गरेर ल्याउन लागेका नेपाली स्वस्थ व्यक्ति रहेको समेत उनले बताए ।

“चीनबाट ल्याइने नेपालीमा भाइरसको सङ्क्रमण हुन नदिन अन्तर्राष्ट्रिय मान्यताअनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,” उनले भने, “क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग आशंका हुनेबितिकै तुरुन्तै एम्बुलेन्समा राखेर उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा राखिनेछ ।”

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ । शङ्कास्पदको प्रयोगशालामा परीक्षण गराई आइसोलेसनमा राखिने उनले बताए ।

उनले चीनको हुवेई प्रान्तको वुहानमा गएर आएका जहाजका प्राविधिक टोलीदेखि चालक दललाई नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर सङ्क्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनःस्वास्थ्य जाँच गरी पाँचवटा बसमा राखेर खरिपाटीको क्वारेन्टाइनमा लगिने बताए । उनले क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments