नेपालगञ्जका एकैपटक २१ जनाले कोरोना जिते, कोरोना जित्नेको संख्या ७० पुग्यो

शुक्रबार, जेष्ठ ९, २०७७



नेपालगञ्ज । प्रदेश-५ स्थित नेपालगञ्ज उपमहानगरपालिका-७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० सहित २१ जना कोरोनाबाट निको भएका छन्।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका उनीहरूमध्ये पहिलो संक्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताएका छन् ।

उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरूलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य ४ जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

३ दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा २ पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । योससहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ७० पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments