कोरोनाको पछिल्लो केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ जनाको मृत्यु

सोमवार, चैत्र ३, २०७६



एजेन्सी । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को पछिल्लो केन्द्र युरोपेली मुलुक बनेका छन्  । पछिल्बलो दिनहरूमा युरोपको अवस्था थप भयाबह बनेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर कोरोना भाइरसका कारण ६ सय ८३ जनाको मृत्यु भएको छ । युरोपका तीन देशमा आइतबार कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या अहिलेसम्मकै बढी भएको छ ।

यसक्रममा आइतबार एकै दिन इटालीमा कोरोना भाइरसका कारण ३६८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ ।

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ जनाको मृत्यु भएको छ ।

उसैगरी स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या २ सय ८८ पुगेको छ ।

फ्रान्समा आइतबार थप २९ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १ सय २० पुगेको छ ।

यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको मृत्यु भएको छ । बेलायतमा एकै दिन यति धेरै संख्यामा मृत्यु भएको पहिलो घटना हो । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयासमा रहेका युरोपेली देशहरुले आवतजावतमा रोक तथा सीमामा कडाई गरेका छन् ।

जर्मनीले फ्रान्स, स्वीट्जरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लग्जेम्बर्गसँगको सीमामा नियन्त्रण कायम गरेको छ भने पोर्चुगलले स्पेनको प्रमुख सीमा बन्द गर्ने जनाएको छ ।

यता, इरानमा एकैदिन ११३ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ सय २४ पुगेको छ । कोरोना भाइरसको उत्पति थलो मध्यपूर्वी चीनमा भने १४ जनाको मृत्यु भएको छ भने् १६ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वीट्जरल्याण्डमा नयाँ संक्रमितको संख्या ८ सय ४२ भएसँगै कुल संक्रमितको संख्या २ हजार २ सय १७ पुगेको छ । स्वीट्जरल्याण्डमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

अहिलेसम्म विश्वव्यापी रुपमा एक लाख ६९ हजार ६०५ जनामा कोरोनाको संक्रमण भएको छ, जसमध्ये ८० हजार चीनका छन् ।

यस्तै कोरोनाका कारण विश्वभरमा कुल ६ हजार ५ सय १८ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन हजार २ सय १३ जना चीनका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments