कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या २ सय ५९ पुग्यो

आइतवार, माघ १९, २०७६



एजेन्सी । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्हाका अनुसार शनिबारसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको हो ।

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट अहिलेसम्म ११ हजार ७ सय ९१ जना प्रभावित बनेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्बन्धी विवरणहरू सार्वजनिक गर्दै आएको छ ।

आयोगले बिरामी भएकामध्ये १७ सय ९५ जनाको अवस्था चिन्ताजन रहेको छ भने अन्य १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशंकामा परीक्षण गरिएको जनाएको छ । उनीहरूको परिक्षणको नतिजा भने आइनसकेको अधिकारीहरुले जनाएका छन् ।

आयोगका अनुसार बिरामी भएकामध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको छ ।

शुक्रबार मात्रै २१ सय २ जना नयाँ संक्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परीक्षण भइरहेको छ ।
यसैगरी शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, तीमध्ये ४५ जना हुवेइ प्रान्तका हुन् भने एक जना चोङक्वीङ नगरपालिकाका हुन् ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार २ सय ६८ जना गम्भीर बिरामी थपिएको जानकारी दिएका छन् । त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनकोे मध्य क्षेत्रमा पर्ने उहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको बताइएको छ ।

भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाइ गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments