नेपालका ३ जना सहित करिब ६ लाख संक्रमित उपचारपश्चात् घर फर्किए

आइतवार, बैशाख ७, २०७७



काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसले अहिलेसम्म विश्वभर एक लाख ५४ हजार जनाको मृत्यु भएको वर्ल्ड मिटरले जनाएको छ ।

यस्तै, हालसम्म २३ लाख ३१ हजार भन्दा बढी कोरोना संक्रमित रहेका  छन् भने उपचारपश्चात् घर फर्किनेको संख्या ५ लाख ९७ हजार नाघेको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख बढी छ भने मृत्यु हुनेको संख्या अमेरिकामा मात्रै ३९ हजार बढी छ ।

भारतमा १६ हजार बढी संक्रमित छन् भने ५ सय बढीको मृत्यु भएको छ ।

यस्तै, कोरोना भाइरसबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वका २१ देशमा गरि १ हजार १ सय ६६ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

यसैगरी, नेपालमा १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने तीनजना कोरोना निको भएर घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments