कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, अमेरिकामा एक दिनमा १९ हजार संक्रमित थपिए

सोमवार, चैत्र १७, २०७६



काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७ लाख नाघेको छ । आज बिहानसम्म १९९ देशमा फैलिएको कोरोनाबाट ७ लाख २२ हजार १ सय २२ बढी संक्रमित भइसकेका छन् ।

यस्तै, यो भाइरसबाट ३३ हजार ९ सय ७६ व्यक्तिले ज्यान गुमाइसकेका छन् भने १ लाख ५१ हजार ७ सय ६६ जना विरामी भने निको भएर घर फर्किएका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४२ हजार नाघेको छ । त्यहाँ २४ घण्टामा १९ हजार नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा कोरोनाबाट २ हजार ४ सय ८४ बढीले ज्यान गुमाइसकेका छन् ।

यस्तै, इटालीमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । त्यहाँ सोमबार बिहानसम्म ९७ हजार ६ सय बढी व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन् । इटालीमा १० हजार ७ सय बढी व्यक्तिले यो भाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा साढे ७ सय व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाको उत्पती भएको चीनमा संक्रमितको संख्या ८२ हजार नाघेको छ । त्यहाँ ३ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा ८० हजार संक्रमित र करिब ७ हजार व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । जर्मनीमा ६२ हजार संक्रमित हुँदा ५४१ जनाले ज्यान गुमाएका छन् । यस्तै, फ्रान्समा कोरोना संक्रमणबाट साढे २ हजारको मृत्यु भएको छ । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । इरानमा संक्रमितको संख्या ३८ हजार र मृत्यु हुनेको संख्या साढे २ हजार नाघेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट संक्रमितको संख्या एक हजार नाघेको छ । त्यहाँ १ हजार २४ व्यक्तिमा संक्रमण र २७ जनाको मृत्यु भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments