भारत र चीनले गरे नेपाललाई सहयोगको अफर

शनिबार, चैत्र ८, २०७६



भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।

चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । बिहीबार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गरेको निर्णयका आधारमा चीन सरकारले सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।

सबै देशका अधिकारीसँग चिनियाँ अधिकारीले एकैपटक सामूहिक भिडियो कल कन्फरेन्स गर्दै वुहान सहरमा कोरोना महामारी नियन्त्रणको अनुभवसमेत सुनाएका थिए । उनीहरूले कोरोनाको मूल स्रोतलाई काट्ने, फैलावट रोक्ने र जोखिममा रहेका उमेर समूहका मानिसलाई जोगाउने सूत्र सुनाएका थिए ।

चिनियाँ अधिकारीले आफ्नो बलबुताले भ्याएसम्म विश्वव्यापी महामारी नियन्त्रणका लागि सघाउने वचन दिएका छन् । नेपाली अधिकारीले भने, ‘चीनले के चाहिन्छ सम्बन्धित कूटनीतिक च्यानलमार्फत पठाउन भनेका छन् र सकेको मद्दत गर्ने वचनबद्धता दिएका छन् । नेपालले आवश्यक पर्ने चिनियाँ सहयोगको सूची पठाइसकेको छ ।’

सरकारले चिनियाँ दूतावासमार्फत नेपाललाई चाहिने स्वास्थ्य उपकरण तथा सामग्रीको सूची चीन सरकारलाई बुझाइसकेको छ । स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पिपिई) र एन९५ मास्क २०–२० हजार थान मागिएको छ ।

त्यस्तै, पोर्टेबल भेन्टिलेटर सय र मोनिटर दुई हजार थान मागेको छ । एबिजी मेसिन, भाइरल डिटेक्टिङ पिसिआर मेसिन र सिआरआरटी मेसिन २०–२० थान मागेको छ ।

यसैगरी, अक्सिजन प्लान्ट पाँच थान, इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स सात थान, मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स पाँच थान र थर्मो स्क्यानर १० थान माग भएको छ ।

त्यस्तै, रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन १० हजार, इन्ट्युवेटिङ सेट र पिसिआर किट्स दुई–दुई हजार तथा थर्मल थर्मोमिटर हजार थानको सूची छ । चीनका लागि नेपाली कार्यबाहक राजदूत सुशीलकुमार लम्सालले बेइजिङबाट टेलिफोनमा भने, सरकारले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई सूची बुझाएको छ । हामी त्यसको फलोअप गरिरहेका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने संयुक्त आपत्कालीन कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘महामारीसँग जुध्न हाम्रा छिमेकीहरू, क्षेत्रीय मित्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौँ,’ ओलीले भने । यसका लागि दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सद्भाव प्राप्त भइरहेको पनि उनले बताएका छन् । नयाँ पत्रिका दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments