कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या १३ लाख नाघ्यो !

बिहिबार, बैशाख २५, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) बाट आज(बिहिबार) बिहानसम्म १३ लाख बढी व्यक्ति निको भएका छन् ।

कोरोनाले सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकामा २ लाख १३ व्यक्ति उपचारपछि घर फर्किएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १२ लाख ६३ हजार नाघेको छ । जसमध्ये ७४ हजार ७ सयको मृत्यु हुँदा १५ हजार ८ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाबाट निको हुनेको संख्या जर्मनीमा बढी छ । अहिलेसम्म त्यहाँ १ लाख ६८ हजार व्यक्ति संक्रमित छन् । जसमध्ये १ लाख ३७ हजार व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

त्यस्तै, स्पेनमा १ लाख ५९ हजार, इटालीमा ९३ हजार, इरानमा साढे ८१ हजार, टर्की, चीनमा समान ७८ हजार, फ्रान्समा ५६ हजार, ब्राजिलमा ५१ हजार, क्यानाडामा २८ हजार, स्विटजरल्याण्डमा साढे २५ हजार, रसियामा २१ हजार, पेरूमा साढे १७ हजार, मेक्सिको, आयरल्याण्डमा १७/१७ हजार, भारतमा १५ हजार बढी संक्रमण मुक्त भएका छन् ।

अरू देशमा पनि कोरोना जितेर घर फर्कनेको संख्या दिनहुँ बढिरहेको छ ।

नेपालमा हालसम्म ९९ संक्रमितमध्ये २२ जना उपचारपछि घर फर्किसकेका छन् । यद्यपि ३ जनामा पुनः कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट बिहीबार बिहानसम्म ३८ लाख २२ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६५ हजार व्यक्तिको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर ९५ हजार व्यक्ति संक्रमित थपिँदा ६ हजार ८ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments