९ वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण बढ्दै

बुधबार, असार १७, २०७७



बाजुरा । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

१ साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरू हुन्,’ उनले भने ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि २ वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् ।

मङ्गलबार साँझसम्म सुदूरपश्चिमका ८ वटै जिल्लामा गरी २ हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५ सय ७३ महिला सङ्क्रमित छन् ।

‘महिलाहरू पनि प्रायः श्रीमानसँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्,’ उनले भभने, ‘समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।’ कोरोनाबाट यहाँ हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने ४ सय ७९ सङ्क्रमित निको भइसकेका छन् ।

यहाँ सबैभन्दा बढी कैलालीका ५ सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । निर्देशक डा. अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा ३ जिल्लामा पीसीआर मेसिन जडानको काम थालिने बताए । ‘डोटी, बैतडी र कैलालीमा गरी ३ ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम सुरु भइसकेको छ,’ अवस्थीले भने, ‘सात÷दश दिनमा सबै सामान आइसक्छ ।’

क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टाइनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म १ हजार ९ सय ३४ स्थानमा करिब ७४ हजार ४ सय ३४ शय्याको क्वारेन्टाइन रहेको छ ।

यहाँका क्वारेन्टाइनमा १३ हजार १७८ जना बसिरहेका छन् । बितेको १ महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै १ लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् ।

सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टाइनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् । रासस 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments