कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या १० लाख ८० हजार नाघ्यो !

शनिबार, बैशाख २०, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार ५ सय बढी थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख १ हजार नाघेको हो ।

कोरोना संक्रमितबाट सबैभन्दा बढी  प्रभावित अमेरिकामा हालसम्म ११ लाख ३१ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ६५ हजार ७ सय बढीको मृत्यु हुँदा १ लाख ६१ हजार ५ सय बढी बिरामी भने उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिँदा १ हजार ८९७ व्यक्तिको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा संक्रमितको संख्या करिब २ लाख ४३ हजार पुगेको छ । जसमध्ये २४ हजार ८ सय बढीको मृत्यु हुँदा १ लाख ४२ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार नाघेको छ । त्यहाँ २८ हजार २ सय व्यक्तिको मृत्यु हुँदा ७८ हजार संक्रमित निको भएका छन् ।

बेलायतमा संक्रमितको संख्या १ लाख ७७ हजार नाघेको छ । जसमध्ये साढे २७ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

फ्रान्समा १ लाख ६७ हजार, जर्मनीमा १ लाख ६४ हजार, टर्कीमा १ लाख २२ हजार, रसियामा साढे १ लाख १४ हजार, इरानमा साढे ९५ हजार, चीनमा करिब ८२ हजार ८ सय, ब्राजिलमा ९२ हजार, क्यानाडामा ५५ हजार, बेल्जियममा ४९ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् ।

दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा संक्रमितको संख्या ३७ हजार २ सय पुग्दा १ हजार २ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २ हजार ३९४ संक्रमित थपिँदा ६९ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियाको अर्को बढी प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १८ हजार नाघेको छ । जसमध्ये ४ सय १७ जनाले ज्यान गुमाएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ६१९ जना नयाँ संक्रमित थपिँदा ५६ जनाको र्मतयु भएको छ ।

शनिबार बिहानसम्म बंगलादेशमा ८ हजार २ सय, अफगानिस्तान २ हजार ३ सय, श्रीलंकामा ६ सय ९०, माल्दिभ्स ४ सय ९१, नेपालमा ५९ र भुटान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा देखिएको कोरोना विश्वका २१० देशमा फैलिसकेको छ ।

शनिबार बिहानसम्म कुल संक्रमितको संख्या ३४ लाख ५ सय नाघेको छ । जसमध्ये १० लाख ८१ हजार व्यक्ति निको हुँदा २ लाख ३९ हजार संक्रमितले भने ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments