संक्रमण बढेसँगै दक्षिण कोरियामा आपत्कालीन उपाय अपनाइँदै

शनिबार, फाल्गुन १०, २०७६



एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमण बढेसंगै केही सहरमा आपत्कालीन उपाय अपनाइने भएको छ । सरकारले यहाँका बासिन्दालाई घरबाट निस्कन रोक लगाएको छ ।

एक साताअगाडि २८ बिरामी रहेको कोरियामा शुक्रबार थप १२० संक्रमित रहेको पाइएपछि सरकारी अधिकारीहरूले ‘स्पेसल केयर जोन’ घोषणा गर्दै सार्वजानिक कार्यक्रमहरू रद्द गराएका हुन् ।

संक्रमित नयाँ बिरामीहरू विशेषगरी सिछेओन्जी धार्मिक समूहसँग सम्बन्धित रहेको बताइएको छ । समूहकी ६१ वर्षीय सदस्य यसै साता कोरोना संक्रमित भएकी थिइन् । केही समयअगाडि मात्र झन्डै १ हजार सदस्य उनैका साथमा एक कार्यक्रममा उपस्थित भएका थिए । सो समूह राजधानी सिओलमा पनि चार ठाउँमा अवस्थित छ ।

यस्तोमा सिओलका मेयर पार्क वन–सुनले शुक्रबारको पत्रकार सम्मेलनमा सोउल प्लाजा, छोङ्ग्ये प्लाजा, ग्वाङहानम प्लाजालगायत सार्वजनिक स्थलको प्रयोग निषेध गरिने बताएका हुन् । ती स्थलहरूमा धेरै नागरिक भेला हुने गरेकाले कोरोना नियन्त्रण गर्न यस्तो निर्णय लिइएको उनले बताए ।

स्पेसल केयर जोनमा भने दुई सहर देगु र छेङ्दोलाई राखिएको छ । पछिल्लो २४ घण्टामै देगुमा १२० नयाँ बिरामीहरू संक्रमित भएपछि प्रधानमन्त्री छङ से–क्युले दुवै क्षेत्रमा कोरोना तीव्र रूपमा फैलिरहनुले कठिनाइ भइरहेको बताएका हुन् ।

त्यस्तै सरकारले क्वारेन्टाइनमा हुनेका लागि सैन्य मेडिकल स्टाफलाई पठाउने र अस्थायी आइसोलेसन कक्षको तयारी गरिरहेको पनि जनाएको छ । त्यस्तै सैन्य बेसमा पनि तीन सेना संक्रमित रहेको पाइएपछि देशभरका सबै सशस्त्र बललाई आफ्नो बेस छाडेर जान र बिदामा बस्नबाट प्रतिबन्धित गरिएको छ ।

हाल देगु र छेङ्दोका सडकहरू खाली देखिन थालेका छन् । हालसम्म भाइरसको संक्रमण देश बाहिरबाट मात्र आइरहेको थियो तर अहिले भने स्थानीय रूपमा भाइरस फैलिरहेपछि गम्भीर चिन्ता व्यक्त गरिएको छ । देगु कोरियाको चौथो ठूलो सहर हो जहाँ २५ लाख मानिस बसोबास गर्छन् । यस्तोमा त्यहाँका बासिन्दालाई अहिले सकेसम्म घरभित्रै बस्न सुझाव दिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments