कोरोनाविरुद्ध विमानस्थलमा उच्च सतर्कता

बुधबार, फाल्गुन १४, २०७६



चीनको हुबेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।

नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिए । हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उनले स्पष्ट पारे ।

पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौं सङ्क्रमित भइसकेका छन् । दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ ।

नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन् । आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उनले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिए ।

दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट पारे । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको स्क्रिनिङ गरिरहेको जानकारी दिए ।

उनले निरन्तर १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर स्क्रिनिङ गरिरहेको जानकारी दिँदै कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको तापक्रम परीक्षणपछि मात्र विमानस्थलबाट छाड्ने गरिएको जानकारी दिए । गोरखापत्र दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments