कोरोना कहर, हिमाली गाउँपालिकाले गर्‍यो छिमेकी जिल्लाका सबै नाका बन्द

शुक्रबार, चैत्र २८, २०७६

- दयाराम पण्डित



 बाजुरा । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासले बाजुराको हिमाली गाउँपालिकाले छिमेकी जिल्ला हुम्ला र मुगुका सबै नाका बन्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत बन्द गर्न हिमाली गाउँपालिकाले निर्णय गरिएको हो ।

छिमेकी जिल्ला हुम्ला ,मुगु लगायत अन्तरपालिकाको आगमन पनि पूर्णरुपले बन्द गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिएका छन । “ सिमानाका सबै पुलमा तार बार गरिएको छ भने प्रत्येक नाकामा दुई दुई जना स्वयंसेवक परिचालन गरेका छौँ । ” अध्यक्ष मल्लले भने ।

 बाजुराको  दुर्गम हिमाली गाउँपालिकामा १ हजार ९ सय ६६ घरधुरी रहेको गाउँपालिकामा सबै घरलाई साबुन वितरण गर्नुका साथै घरघरमा पुगेर जनचेतना दिने काम भइरहेको छ । १५० क्विन्टल चामल मौज्दात गरेका छौँ बिपन्र परिवारलाई बाँड्ने योजना बनाउँदै छौँ अध्यक्ष गोविन्द मल्लले भने । अरू स्थानीयतहहरु जस्तै आफ्नो गाउँपालिकाले पनि यति बेला गाउँ गाउँमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि भत्ता दिने निर्णय समेत गरेको अध्यक्ष मल्लले जनाएका छन ।

हिमाली गाउँपालिका अधिकांश युवा विदेशतिर छन् । गाउँमा प्राय बुढापाका छन् । पारिवारिक अवस्था बुझ्न प्रत्येक वडामा विपद् व्यवस्थापन समिति गठन गरेको छ। उक्त समितिको सिफारिसको आधारमा कम्तीमा ३० किलो चामल र आवश्यक सामाग्री वितरण गर्ने बताइएको छ । १ जना बहराइन र ६जना भारतबाट आएकालाई होम क्वारेन्टाइनमा राखेर उनको नियमित स्वास्थ्य परीक्षण भइरहेको स्वास्थयकर्मी प्रेमकला मल्लले बताएकि छन । पिपिइ सेटको नाममा केही थान मास्क र पन्जा प्राप्त भएका छन् । अरू सबै स्थानीय स्रोतसाधन प्रयोग गरेको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यसै गरी हाल विश्व कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणले ग्रसित रहेकोले यस अवस्थामा स्वास्थ्यकर्मीहरु निकै जोखिममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकाले पनि हौसला स्वरूप भत्ताको व्यवस्थापन गरेको अध्यक्ष मल्लले बताए ।गाउँ गाउँमा कति मान्छे छन् राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाध्यक्ष देखि कर्मचारी सबै लागिपरेका छन् राहत दिनु अघि गाउँमा वडा अध्यक्षहरू, वडा सचिवहरू तथ्याङ्क सङ्कलन भइरहेको र केही दिनमा खान नपुग्ने दैनिक ज्यालामा काम गरी खानेहरूका लागी खाद्यान्नको व्यवस्थापन कार्यक्रमको समेत व्यवस्था गरेको अध्यक्ष मल्लले बताए ।

त्यसै गरी हुम्ला बाजुरा जोडिएका विभिन्न क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएका र छिमेकी जिल्ला हुम्ला बाजुरा र मुगु बाजुराको आवत जावतमा समेत रोक लगाएको छ । यति वेला वल्लो गाउँबाट पल्लो गाउँ जान पनि रोकिएको छ। गाउँका सार्वजनिक धारा मेलापात जाँदा पनि दुई तिन जना भन्दा बढीको समूह बनाएर जान्दैनौँ । रोगब्याधीले नलागाेस भनेर नजिकका देवीदेवताको थानमा (मन्दिर) आगो बाल्ने ध्वजा लगाउने फूलपाती चढाउने जस्ता दैविक आस्थाका कर्म पनि गाउँघर हुन थालेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments