आइसोलेसनमा रहेका एक किशोरको रिपोर्ट नेगेटिभ

शनिबार, चैत्र २२, २०७६

- दयाराम पण्डित



बाजुरा । विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात कोभिड- १९को आशङ्कामा जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा भर्ना गरिएका एक जना बिरामीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

काेराेना भाइरसकाे अांशकामा भर्ना भएका  १६ वर्षीय किशोरको स्वाब परीक्षणका लागि चार दिन पहिले प्रादेशिक अस्पताल धनगढी पठाएको थियाे । धनगढीमा स्वाब परीक्षण ढिलो भएपछि  काठमाडौँ पठाइएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उनको स्वाब परीक्षण गराउँदा नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले जानकारी दिए । बुधवार स्वाब परीक्षणको लागि बाजुराबाट पठाएका थियौं चार दिन पछि रिपोर्ट नेगेटिभ आएको डाक्टर विकले बताए।

गत मङ्गलवारदेखि कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।ज्वरो एक सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको डाक्टर विश्वकर्माले बताए ।  रिपोर्ट नेगेटिभ छ आईसोलेसनबाट डिस्चार्ज गरी वार्डमा सिफ्ट गरी अन्य चेकजाँच गरेर घर पठाउने तयारी गरिएकाे छ ।
आइसोलेसनमा रहेका किशोर एक हप्ता अघि भारतबाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर मावि स्थित क्वारेन्टाइनमा राखिएका थिए ।

अत्यधिक ज्वरो आएपछि  क्वारेन्टाइनबाट जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।  किशोरको स्वाब परीक्षण नेगेटिभ भएको थाहा पाएपछि बाजुरावासी खुसी देखिएकाे गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायले बताए। यद्पी बाजुरामा दश हजार भन्दा बढी मानिस भारतबाट आएका छन् । तर हालसम्म ९२ जना मात्र क्वारेन्टाइनमा राखिएका छन् । बाहिरबाट आएर सिधै गाउँ पसेका मानिसको तथ्याङ्क सङ्कलन गरिरहेको बडिमालिका नगरपालिका प्रमुख पदम बडूवालले बताएका  छन । त्यसै जिल्लाका प्रत्येक पालिकमा क्वारेन्टाइन व्यवस्था गरी आवश्यक खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments