गरिखाने मजदुरमा बढ्दै कोरोनाको चासो

मङ्लबार, चैत्र ११, २०७६



पैदल यात्रुको पातलो आवागमन रहेको तीनकुनेस्थित सडकपेटीमा दुर्गाबहादुर खड्का हरियो मकै पोल्दै थिए । कपडाको कालो मास्क लगाएर आगो फुकिरहेका खड्काको व्यापार तीन दिनयता राम्रो भएको छैन ।

‘कोरोना आयो भनेर सबै गएछन् कि ? व्यापार नै भएको छैन’, उनले दुःखेसो सुनाए, ‘जे विपत्ति आए पनि हामी गरिखानेलाई नै दुःख रहेछ ।’ यही दुःखको दिनचर्याबीच उनले कोरोनाको सङ्क्रमणबाट जोगिन उपाय अपनाइएको बताए ।

मास्क नलगाई हिँडडुल नगर्ने, दैनिक नुहाउने, तातोपानी खाने गरिएको उनले बताए । उनले कोरोना भाइरस (कोभिड–१९) बारे टीभीमा खबर सुनेर थाहा पाएको सुनाए । ७० वर्षका खड्कालाई छोराछोरीले युट्युब हेरेर पनि दिनदिनको खबर सुनाउने गरेको उनले बताए ।

ओखलढुङ्गाका कुलबहादुर कार्की काठमाडौँमा डेलिभरी भ्यान चलाउँछन् । सोमबार दिउँसो फ्रान्सबाट काठमाडौँ आएकी एक किशोरीमा कोभिड–१९ पोजिटिभ देखिएको खबर पनि उनले आफ्नै गाडीमा बसेर सुने । ‘कोरोनाबारे सबै खबर सुन्ने र पढ्ने गरेको छु । सतर्कता अपनाएको छु’, उनले भने ।

आफ्नो डेलिभरी भ्यानमै उनले स्यानिटाइजर र हाते पन्जा बोकेर हिँडेका छन् । सम्भव भएसम्म पटकपटक साबुनपानीले हात धुने गरिएको र खानुअघि हातमा स्यानिटाइजर लगाउने गरिएको उनले बताए । घरमा पनि साबुनपानीले घरिघरि हात धुन परिवारका सदस्यलाई सचेत गराइएको उनको भनाइ छ ।

कोरोना भाइरसको प्रकोप नेपालमा फैलिए यस्तै दैनिक काम गरी खानेलाई सबैभन्दा बढी प्रभावित पार्ने विश्लेषण गरिएको छ । पूर्वरोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । साथै सङ्क्रमणबाट बच्ने उपायबारे स्वास्थ्य सन्देश पनि विभिन्न माध्यमबाट दिइएको छ । गोरखापत्र दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments