समुदायस्तरमै कोरोना भाइरस

बुधबार, असार १७, २०७७



गण्डकी प्रदेशका ६ जिल्लाका समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित पुष्टि हुन थालेका छन् ।

गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा पछिल्लो समय समुदायस्तरमै कोरोना सङ्क्रमित पुष्टि हुन थालेका हुन् ।

सरकारले कोरोना परीक्षणका लागि विदेशबाट आएका, सङ्क्रमितको सम्पर्कमा आएका र सङ्क्रमणको लक्षण देखिएकाको परीक्षण गर्दै आइरहेको थियो ।

पछिल्लो समय कुनै पनि यात्रा विवरण नभएका व्यक्तिमा सङ्क्रमण देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङको कामलाई अगाडि बढाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा पहिलो पटक लमजुङ ठेगाना भई काठमाडौंमा बस्दै आएका एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालकको स्थायी बसोबास जिल्ला बाहिर रहे पनि जिल्लाको स्थायीवासी भएकाले सङ्क्रमित भनिए पनि उनको लमजुङ जिल्लासँग कुनै सम्पर्क नरहेको जनाइएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की, स्याङ्जा, गोरखा, बागलुङ, तनहुँ र पर्वतमा क्वारेन्टाइन बाहिरका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो । पोखरास्थित आफ्नै निवासमा बेहोश भई उपचारका लागि काठमाडौँ लगिएका एक व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा अरू कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको थिएन ।

पछिल्लो समय उपचारका लागि अस्पताल पुगेका, अस्पतालका स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा काम गर्ने व्यक्ति सुरक्षाकर्मीमा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढ्दै गएको छ ।

मोटरसाइकल दुर्घटना भई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुगेका पर्वतका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनको यात्रा विवरण नभए पनि सङ्क्रमण देखिएपछि गरिएको कन्ट्याक्ट टे«सिङमा अन्यलाई कोरोना सङ्क्रमण देखिएको थिएन ।

पर्वतमा कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पर्वत अस्पतालमा कार्यरत सात, नीजी मेडिकलमा काम गर्ने एक युवक र ती युवकको सम्पर्कमा आएकामा कोरोना सङ्क्रमण देखिएको थियो ।

बागलुङका १ सुरक्षाकर्मी, २ जना क्वारेन्टाइनमा खाना पकाउने र १ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमै सङ्क्रमण फैलिन थालेको आशङ्का गरिएको छ । त्यही आशङ्कामा काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई सिल नै गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments