शंंकास्पद ५६९ को कोरोना परीक्षण, अहिलेसम्मका सबै नेगेटिभ

आइतवार, चैत्र ९, २०७६



सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ ।

यसैबीच, चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको जोखिम रहे पनि आत्तिइहाल्नुपर्ने अवस्था नभएको सुझाव दिएका छन् । तर, सतर्कता भने अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । नेपालमा केन्द्रीय प्रयोगशालाका रूपमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुँदै आएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । सतर्कता पनि अपनाउनुपर्छ ।’

पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट २ लाख ७८ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ११ हजार ८ सय २६ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ हजार २ सय ७६ जना निको भएर फर्किसकेका छन् ।

यसैबीच, शनिबार अनुमतिबिना मलेसिया, यूएई र जापानबाट आएका ६३ नेपालीलाई सरकारले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ । सरकारले शुक्रबार राति १२ बजेपछि खाडीलगायत मलेसिया, दक्षिण कोरिया, जापान, इरान र युरोपबाट कुनै पनि यात्रु नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । तर, शनिबार थाई एयर र एयर इन्डियाबाट ६३ यात्रु नेपाल आए । राजधानी दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments