संविधान संशोधन कार्यदल नजन्मिदै मारियो

बुधबार, फाल्गुन १४, २०७६



काठमाडौँ । मिडियाले केही दिन देखि चर्चामा ल्याएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदल नजन्मिँदै मारिएको छ ।
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधनपछि प्रधानमन्त्री बनाउने लक्षकासाथ अघोषित रूपमा गठन गरिएको कार्यदल भङ्ग भएको छ ।

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा गठित उक्त कार्यदलले संविधान संशोधन गर्दै राष्ट्रिय सभाका सांसद समेत प्रधानमन्त्री चुनिन सक्ने प्रावधान राख्न चाहेको थियो । उक्त कामको लागि लामो समयदेखि नेकपा नेता वामदेव गौतमले विभिन्न च्यानलबाट दबाब दिदैं आइरहेका थिए ।

पछिल्लो भैंसीपाटी भेलामा भएको अनौपचारिक सहमति अनुरूप उचित समयमा संविधान संशोधन गर्ने र कमरेड वामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिने मनसायका साथ जन्माउने भनिएको कार्यदलमा दुई सदस्यहरू माननीय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाको नाम चयन गरिएको थियो ।

अनौपचारिक रूपमा जन्माइएको उक्त कार्यदललाई गोप्य रूपमा राख्दै संविधानमा आवश्यक संशोधनको अध्ययन गर्ने काम पाएको कार्यदललाई अकस्मात् मिडियामा चुहाएसँगै सांसदद्वय नेम्वाङ  र देवकोटाले कार्यदलमा बस्न अस्वीकार गरेका थिए । कोटेश्वरमा नेता नेपालसँग भएको भलाकुसारी पछि कार्यदलले मूर्त रूप लिन सकेन । फलस्वरूप पार्टी भित्र गुटगत किचलोको कारण संविधान संशोधन कार्यदल नजन्मिँदै मर्न पुगेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments