नेपाली कांग्रेसको पदाधिकारी बैठक आज

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागि हुनेछन् । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । कांग्रेस विधानमा उम्मेदवार चयन गर्न संसदीय समितिको व्यवस्था छ ।

तर विधानविपरीत संसदीय समिति गठन भएको भन्दै पार्टीभित्रबाटै विरोध भएपछि सभापति देउवाले डेढ वर्षअघि समिति विघटन गरेका थिए । त्यसपछि संसदीय समिति गठन हुन सकेको छैन ।

मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत बागलुङ, भक्तपुर र दाङमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कात्तिक २१ मा उम्मेदवार मनोनयनको दर्ता मिति तोकेपनि दलहरुले आजसम्म उम्मेदवार तय गर्न सकेका छैनन्।

कांग्रेसले तीन जनाको नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई परिपत्र गरेको थियो । तर जिल्लाबाट धेरै आकांक्षीको नाम सिफारिस भएपछि केन्द्रलाई उम्मेदवार चयन गर्न सकस भइरहेको हो ।

पार्टीभित्र रहेको गुटउपगुटका कारण पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो । नेताहरुले गुटका आधारमा उम्मेदवार चयन गर्न खोज्दा समय लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने दावी गरे । उनले केन्द्रीय समितिको निर्देशन र सुझाव बमोजिम पदाधिकारीले निर्णय गर्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata