कांग्रेसको विवाद छताछुल्ल, पौडेल पक्षद्वारा बैठक बहिस्कार

शुक्रबार, भदौ ८, २०७५



काठमाडौँ । नयाँ संविधान जारी भएसँगै देश संघीयतामा गएपनि देशको पुरानो दल नेपाली कांग्रेस भने अझै संघीयतामा प्रवेश गरेको छैन् । कांग्रेसका तत्कालिन सभापति स्व. सुशील कोइराला प्रधानमन्त्री भएको बेला संघीय संविधान जारी भएको थियो । तर, देशको पुरानो दल कांग्रेसले संघीयतासम्बन्धि अभ्यास नै गर्न सकेको छैन् ।

पार्टी सभापति शेरबहादुर देउवाले ११ सदस्यीय पार्टीको विधान मस्यौदा समिति बनाएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तु्ष्टि जनाएका छन् । जसका कारण पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको मस्यौदा समितिको बैठक पौडेल पक्षका सदस्यहरूले बहिस्कार गरे । ९ सदस्यीय समिति गठन गर्ने सहमति सभापतिले उलंघन गरेको तथा ११ सदस्यीय समितिमा आफ्नो पक्षबाट कम सदस्य पारेको पौडेल पक्षको दावी छ ।

सिटौला पक्षका सदस्य प्रदिप पौडेलले भने काम विशेषले उपस्थित हुन नसक्ने जानकारी गराएका थिए भने नवीन्द्रराज जोशी, दिलेन्द्र बडु उपस्थित भएका थिएनन् । पौडेल पक्षका मिनेन्द्र रिजाल भने बैठकमा उपस्थित थिए । तर, रिजाल देउवा पक्षमा लागेको चर्चा कांग्रेसभित्र छ ।
महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको समितिमा रिजाल, पौडेल, जोशी, बडुसहित फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, सीता गुरुङ र रमेश लेखक सदस्य छन् ।

पौडेल पक्षको बहिस्कारका बीच शुक्रबारको बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालय सचिव केशव रिजाललाई दिएको छ । देशभरका नेता तथा कार्यकर्ताको सुझाव लिएर विधानको मस्यौदा तयार पार्ने गरी छलफल अगाडि बढेको समितिले जनाएको छ ।
विधानको मस्यौदा भदौं अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments