कांग्रेस किचलोः भागबन्डामै अड्कियो सहमति

बिहिबार, पुस ३, २०७६



नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ ।

गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भए पनि संस्थापन पक्षबाहेकका नेता बैठकमा सहभागी भएका छैनन् ।

यसबीचमा बसेका बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनको एजेन्डा पेस गर्नुपर्ने भन्दै निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।

संस्थापन पक्ष र इतरपक्षले यसबीचमा सहमतिको प्रयास गर्न भन्दै वार्ता टोली नै बनाएर छलफलसमेत गर्दै आइहेका छन् । तर, महाधिवेशनको एजेन्डाबाट सुरु भएको वार्ताको प्रयास पछिल्लो समय भागबन्डामा आएर अड्किएको संस्थापन पक्ष बताउँछ ।

वार्ता समितिमा संस्थापन पक्षबाट नेतृत्व गरिरहेका उपसभापति विमलेन्द्र निधिले केही विषयमा सहमतिनजिक पुगिएको भए पनि नेविसंघको विषयमा कुरा नमिलेको बताए ।

‘केही विषयमा सहमति भएका छन्, केहीमा छलफल चल्दै छ, मुख्य कुरा नेविसंघमा मिलेको छैन,’ उपसभापति निधिले भने ।

संस्थापन पक्षका केन्द्रीय सदस्य रमेश रिजाल सुरुमा महाधिवेशनको एजेन्डालाई बैठकमा पेस गर्नुपर्ने अडान लिएको पौडेल समूह हाल आएर तरुण दल र नेविसंघभित्रको नेतृत्वमा भाग खोजिरहेको बताउँछन् ।

‘पहिले महाधिवेशनको एजेन्डा र कार्यतालिकालाई जोडतोडसँग उठाउने पौडेलजीहरू अहिले भागबन्डामा बैठकलाई अड्काइ रहनुभएको छ, उहाँहरू बैठकमा एकपछि अर्को विवाद निम्त्याउँदै महाधिवेशनमा त्यसैलाई एजेन्डा बनाउने पक्षमा हुनुहुन्छ,’ नेता रिजालले भने ।

संस्थापन इतर समूहका नेता नवीन्द्रराज जोशीले भने आफूहरूले महाधिवेशनको एजेन्डा नछाडेको र संस्थापन समूहले लगाएको आरोप सत्य नभएको बताए । ‘हामीले महाधिवेशनको एजेन्डा छाडेका छैनौं, त्यो गलत हो, बरु आगामी मंसिरमा नै महाधिवेशन गरौं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू फागुनमै पु¥याउने सोचमा हुनुहुन्छ,’ नेता जोशीले भने ।

नेताहरूबीच बुधबारसमेत पटकपटक सहमतिका लागि भन्दै छलफल भएको थियो । तर, नेविसंघ र तरुण दलको नेतृत्व कसले लिने र पदाधिकारी कति रहने भन्नेमा सहमति जुटेको छैन । संस्थापन पक्ष पौडेल समूहलाई दुवै संगठनमा नेतृत्व सुम्पन तयार देखिएको छैन ।

बरु तरुण दललाई वर्तमान अवस्थामै म्याद थप्ने र नेविसंघमा भागबन्डा मिलाउन महामन्त्रीको संख्या थप गर्न संस्थापन तयार भएको छ । संस्थापन पक्ष म्याद सकिएको तरुण दललाई ६ महिना थप गरेर महाधिवेशन गर्न दिने पक्षमा छ । तर, पौडेल समूह विधानअनुसार अधिवेशन गराउन सदस्य थपेर ९५ सदस्यीय बनाउनुपर्ने पक्षमा छ । राजधानी दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments