काँग्रेस नेतामाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ

शुक्रबार, भदौ २७, २०७६



काठमाडौं । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

सभापति कोइरालालगायतका काँग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको दाबी काँग्रेसले गरेको छ । तर सो आरोपलाई नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले खण्डन गरेका छन् ।

अध्यक्ष खरेलले भने, ‘काँग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काँग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासी जन्माएको यो दुःखद् घटना मात्र हो ।’

नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काँग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata