कांग्रेसमा देउवा पौडेलका आ-आफ्नै रणनीति, सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने

शुक्रबार, चैत्र ९, २०७४



काठमाडौं ९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्न लागेको छ। कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ ।

बैठकका प्रारम्भिक दिनमा आफूले ठूलो हार व्यहोर्नु परेको गत चुनावको समीक्षा गरिने कांग्रेसले जनाएको छ । उक्त दलका नेताहरुका अनुसार प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचनाअनुसारको पार्टी ढाँचा बनाउन विधान संशोधन समिति पनि गठन गर्ने छ।

देउवा निकट कतिपय नेता त्यही समितिमार्फत पदाधिकारीको संख्या बढाउनु पर्ने पक्षमा छन्। महाधिवेशनअघि पदाधिकारी बढाउने तत्कालीन कार्यवाहक अध्यक्ष रामचन्द्र पौडेल पक्षको प्रयास देउवा पक्षको असहमतिका कारण विफल भएको थियो।

तर अहिले पौडेल पक्ष त्यसको विपक्षमा देखिन्छ। बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ ।

अहिले पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै गर्दा तेस्रो विचार समूह दाबी गर्दै सिटौला पक्ष आफ्नो धार बलियो बनाउने अभियानमा लागेको छ । दुई पक्षको विवादमा घुसेर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा सिटौला पक्ष देखिन्छ । बैठकमा सभापतिले सबैलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् ।

संस्थापनको तयारी
बैठकमा सभापतिले सबै सदस्यलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् । निर्वाचन हार्नुका कारण, अब प्रतिपक्षीका रूपमा पार्टीले खेल्नुपर्ने भूमिका र पार्टी सञ्चालनको योजना बनाउने विषयमा बैठक केन्द्रित गर्ने संस्थापनको तयारी छ ।

सभापति देउवाले यसअघि नै जिल्ला जिल्लाबाट चुनावको प्रतिवेदन मगाउन निर्देशन दिइसकेका छन् । प्रतिवेदनकै आधारमा कुन नेताले कस्तो भूमिका खेले भन्ने विषयमा समीक्षा गराउने उनको तयारी छ । ‘पार्टीमा हारेकाले गाली गर्न सक्छ, तर उसले आफ्नो ठाउँमा गएर कति भोट ल्यायो, बढायो भनेर पनि खोजी गरिनेछ,’ सभापतिनिकट स्रोतले भन्यो, ‘निर्वाचन हार्नुका पछाडि अहिले जसरी नेतृत्वमाथि खनिने काम भएको छ । अब नेताहरू कहाँ गएर कति मत बढाए भनेर डाटामा रिजल्ट हेरिन्छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank