मौसमी रुघाखोकीले लियो ७ जनाको ज्यान, सतर्कता अपनाउन आग्रह

आइतवार, माघ १२, २०७६



काठमाडौं ।  पुस अन्तिम सातादेखि हुम्लाका दुर्गम क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीको औषधि नपाएकै कारण मृतकको संख्या बढ्दै गएको छ । शनिबारसम्म पाँच जनाको मृत्यु भएकोमा शनिबार राति र आइतबार बिहान गरी मृत्यु हुनेको संख्या सात पुगेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो ।

चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरू सबैको २६ पुसयता ज्यान गएको हो । त्यस्तै, सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । २६ पुसदेखि सुरु भएको रुघाखोकीको प्रकोपले चंखेलीमा मात्र ५ जनाको ज्यान गएको मासिधाराका हिराबहादुर शाहीले बताए ।

चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव नभएको उनले दाबी गरे । तर स्थानीय भने औषधि उपचार नपाएरै धमाधम मर्न थालेका छन् । पैदल दूरीमा जिल्ला सदरमुकाम सिमकोटबाट चंखेली पुग्न दुई दिन लाग्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments