नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘कार्यकर्ता संरक्षण कोष’ बनाउने

बुधबार, जेष्ठ ३०, २०७५



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘कार्यकर्ता संरक्षण कोष’ बनाउने भएको छ । नेपालपाटी डटकमलाई प्राप्त विधानको मस्यौदा अनुसार धारा –६७ (क) मा ‘पार्टी कार्यकर्ता संरक्षणको लागि एउटा कोष हुने’ उल्लेख छ । केन्द्रीय कमिटीको अनुमति लिएर यस्तो कोष प्रदेश र जिल्ला कमिटी तहसम्म पनि स्थापना गर्न सकिनेछ । कोष संचालनका लागि छुट्टै विनियम बनाउने भनिएको छ ।

विधानको धारा ६६ मा पार्टी कोषको व्यवस्था छ । केन्द्रीय कमिटीले उक्त कोषको निर्माण गर्नेछ । कोषमा तोकिएको सदस्यता शुल्क तथा लेवीबाट प्राप्त रकम, चन्दा सहयोगबाट प्राप्त रकम, प्रकाशन बिक्री वितरणबाट प्राप्त रकम, पार्टी सम्पत्तिको परिचालनबाट प्राप्त रकम, विशेष कार्यक्रम वा अभियानवाट संकलित रकम र पार्टीको लगानीमा सञ्चालित परियोजनाबाट प्राप्त रकम जम्मा हुनेछ ।

सवै स्थानीय पार्टी कमिटीहरूले आफ्नो मातहतका कमिटी र सदस्यहरूबाट सदस्यता शुल्क एवम् लेवी र समर्थक–शुभचिन्तकहरूबाट सहयोग संकलन गरी आफ्नो तहको कोष निर्माण र सञ्चालन गर्न पाउने भएका छन् ।

पार्टी कोषको व्यवस्थापन र सञ्चालन पार्टीको आर्थिक विनियम अनुसार हुने विधानमा उल्लेख छ ।

पार्टीको नाममा भएका अचल र जिन्सी लगायत सम्पूर्ण सम्पत्तिमा पार्टी केन्द्रीय कमिटीको पूर्णस्वामित्व रहने छ । केन्द्रीय कमिटीको लिखित अनुमतिबिना लिइएको ऋण तथा दायित्वप्रति पार्टी जवाफदेही नरहने व्यवस्था विधानमा गरिएको छ । तर, विधानले अन्तिम रुप भने पाइसकेको छैन् ।

परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी कमिटीले पारिश्रमिक वा खर्चको व्यवस्था गर्ने, पार्टीका कुनै विशेष काममा पार्टी नेता वा कार्यकर्तालाई खटाउँदा हुने खर्चको व्यवस्था पार्टीले गर्नेछ । पार्टीको सबै तहमा आय–व्ययको लेखा केन्द्रीय लेखा परीक्षण आयोगले तोके बमोजिम राखिनेछ र सबै कमिटीहरूले पार्टीको आर्थिक विनियम अनुसार आय व्ययको लेखा राख्नुपर्नेछ । प्रत्येक पार्टी कमिटीले हरेक आर्थिक वर्षभित्र लेखा परिक्षण गराई माथिल्लो कमिटीमा पेश गर्नुपर्ने छ भने आफ्नो तहको अधिवेशनमा सिङ्गो अवधिको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ ।

352 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank