नेकपाको केन्द्रदेखि स्थानीय कमिटीसम्म उम्मेदवार बन्न कति योग्यता आवश्यक ?

महाधिवेशन प्रतिनिधि हुन कम्तिमा १० वर्ष संगठित सदस्य भएको हुनुपर्ने

शुक्रबार, जेष्ठ २५, २०७५



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तिमा १० वर्ष संगठित सदस्य भइ काम गरेको हुनुपर्ने विधान तयार भएको छ । महिला, दलित, सिमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने सङ्गठित सदस्य भई ७ वर्ष काम गरेको भए पुग्नेछ ।
यसअघि एमालेको महाधिवेशन प्रतिनिधि हुन कम्तिमा ७ वर्षको हुनुपथ्र्यो भने महिला, दलित, सिमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने सङ्गठित सदस्य भई ५ वर्ष काम गरेको हुनुपथ्र्यो ।

नेकपा स्रोतले नेपालपाटी डटकमलाई उपलब्ध गराएको विधान अनुसार केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्य हुन एक कार्यकाल पोलिटव्युरो सदस्य भएको र पोलिटव्युरो सदस्य हुन कम्तिमा १ कार्यकाल केन्द्रीय कमिटीको पूर्ण सदस्य भएको हुनुपर्नेछ ।

यस्तै, केन्द्रीय कमिटीको सदस्य हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा, सङ्गठित सदस्य भई कम्तिमा १२ वर्ष काम गरेको र प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा, जिल्ला कमिटीको सदस्य भई २ कार्यकाल काम गरेको हुनुपर्नेछ । महिला, दलित, सिमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने सङ्गठित सदस्य भई ९ वर्ष काम गरेको र कम्तिमा १ कार्यकाल जिल्ला कमिटीमा रहेर काम गरेको भए पुग्नेछ ।
कुनै ब्यक्ति राजनीतिक कारणले जेल परेमा जेल बसाईंको अवधिलाई पनि राजनीतिक निरन्तरतामा गणना गरिने विधानमा व्यवस्था गरिएको छ ।

प्रदेश कमिटीका पदाधिकारी र सदस्यको योग्यता
प्रदेश अधिवेशनको प्रतिनिधि हुन सङ्गठित सदस्य भई कम्तिमा ६ वर्ष पार्टी काम गरेको हुनुपर्नेछ । प्रदेश कमिटीको पदाधिकारी र सदस्य हुन प्रदेश कमिटी वा क्षेत्रीय ब्युरो अञ्चल÷विशेष समन्वय कमिटीको सदस्य भई काम गरेको वा सङ्गठित सदस्य भई ८ वर्ष पार्टी काम गरेको र जिल्ला कमिटीमा रही दुई कार्यकाल काम गरेको हुनुपर्नेछ । महिला, दलित र सिमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने सङ्गठित सदस्य भई ६ बर्ष काम गरी कम्तिमा १ कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको भए पुग्नेछ ।
प्रदेश कमिटीको पदाधिकारी र सचिवालय सदस्य हुन प्रदेश कमिटीमा रही एक कार्यकाल काम गरेको हुनुपर्नेछ ।

स्थानीय कमिटी पदाधिकारी तथा सदस्यको योग्यता
जिल्ला अधिवेशनको प्रतिनिधि निर्वाचित हुन पार्टी सदस्य भई ४ बर्ष काम गरेको हुनुपर्नेछ । महिला, दलित, सिमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा सङ्गठित सदस्य भई ३ बर्ष काम गरेको भए हुनेछ ।
जिल्ला कमिटीको सदस्य हुन जिल्ला कमिटीको पदाधिकारी वा सदस्यभई काम गरेको वा पार्टी सदस्य भई ६ वर्ष काम गरेको र निर्वाचन क्षेत्रीय कमिटी वा इलाका स्तरीय कमिटीमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्नेछ ।
महिला, दलित, सिमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा सङ्गठित सदस्य भई ४ बर्ष काम गरेको र मातहत कमिटीमा १ कार्यकाल काम गरेको भए पुग्नेछ ।
जिल्ला कमिटीको पदाधिकारी र सचिवालय सदस्य हुन १ कार्यकाल जिल्ला कमिटीमा काम गरेको हुनुपर्नेछ भने अन्य स्तरका कमिटीका पदाधिकारी र सदस्यको योग्यता तोकिए बमोजिम हुने विधानमा व्यवस्था छ ।

7820 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank