नेकपाको निष्कर्षः कांग्रेस ढुलमुले, सम्झौतापरस्त र आत्मसमर्पणवादी

कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन सकेन

शुक्रबार, जेष्ठ २५, २०७५



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली कांग्रेस ढुलमुले, सम्झौतापरस्त र आत्मसमर्पणवादी भएको निष्कर्ष निकालेको छ । तर, कांग्रेसले लोकतान्त्रिकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको नेकपाको बुझाइछ । नेपालपाटी डटकमलाई नेकपा स्रोतले उपलब्ध गराएको राजनीतिक प्रतिवेदनमा भनिएको छ –‘नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । यद्यपि यसले लोकतान्त्रिकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।’

नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व कांग्रेसले गरेको र अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग घनिष्ट एवं अन्योन्यास्रित सम्बन्ध रहेको नेकपाको ठम्याइ छ ।  कांग्रेसको आर्थिक नीतिकै कारणबाट लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गतिलिन नसकेको र आर्थिक विकास हुन नसकेको तथा कांग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोंगमा परिणत भएको निष्कर्ष नेकपाको छ ।

‘नेपाली कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन सकेको छैन । ऊ सरकारको नेतृत्वमा हुँदा कैयौं पटक राष्ट्रिय हितविपरीत सन्धिसम्झौता र राष्ट्रियतामाथि आघात पु¥याउने निर्णय भएका छन् । २००७ सालको दिल्ली सम्झौता देखि २०७२ सालको नाकाबन्दी सम्मका प्रमुख घटनाहरुमा यसले राष्ट्रियहित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिंदै आएको छ ।’ नेकपाले भनेको छ ।

राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति कांग्रेसको प्रवृत्ति बनेको नेकपाको ठहर छ । नेपालको लोकतान्त्रिक संघर्षको पुरानो पार्टी भएर पनि कांग्रेस लोकतान्त्रिक मूल्यमान्यतामा खरो उत्रन नसकेको र सरकारमा रहँदा कांग्रेसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको नेकपाको दावी छ ।

कांग्रेससँग विगतमा सामन्तवादविरुद्धको सङ्घर्षमा पटक–पटक सहकार्य गरेको र भविश्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा सहकार्यको नीति लिइने नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । तर वर्गीय, वैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति कांग्रेस नै रहेको निष्कर्ष नेकपाको छ ।

2477 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank