तोकियो कफीको समर्थन मूल्य

आइतवार, मंसिर १, २०७६



सरकारले कफीको समर्थन मूल्य निर्धारण गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि कफीतर्फको फ्रेस चेरी कफी, पार्चमेन्ट कफी र ड्राइ चेरीको समर्थन मूल्य निर्धारण गरेको हो।

बोर्डका योजना अधिकृत गौरव लुईटेलका अनुसार राष्ट्रिय कफी दिवसको अवसर पारेर तीन प्रकारका कफीको ग्रेड ‘ए’ र ग्रेड ‘बी’ गरी दुई थरीको मूल्य तोकिएको छ।

उनका अनुसार फ्रेस चेरीतर्फ अर्गानिक प्रमाणीकरण भएको ‘ए’ ग्रेडलाई प्रतिकिलो ८५ रुपैयाँ मूल्य तोकिएको छ। सोही समूहतर्फको अर्गानिक प्रमाणीकरण नभएको ‘बी’ ग्रेडलाई ८० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै पार्चमेन्टतर्फ अर्गानिक प्रमाणित भएको ‘ए’ ग्रेडको कफीलाई चार सय २५ रुपैयाँ मूल्य तोकिएको छ। सोही समूहतर्फको अर्गानिक प्रमाणित नभएको ‘बी’ ग्रेडको कफीलाई चार सय १० रुपैयाँ तोकिएको छ।

पछिल्लो १० वर्षको अवधिमा सबैभन्दा बढी पार्चमेन्टतर्फको कफीको समर्थन मूल्यमा वृद्धि भएको छ। २०६७ मा अर्गानिक प्रमाणित भएको ‘ए’ ग्रेडको पार्चमेन्टको मूल्य एक सय ५० रुपैयाँ प्रतिकिलो थियो।

यही कफीको मूल्य २०६८ मा एक सय ७०, २०६९ मा दुई सय २५, २०७० मा दुई सय २५, २०७१ मा दुई सय ८५ र २०७२ मा एकैपटक चार सय रुपैयाँ मूल्य निर्धारण गरेको थियो। यस्तै २०७३ र २०७४ मा चार सय १५, २०७५ मा चार सय २५ रुपैयाँ समर्थन मूल्य तोकिएको थियो।

बोर्डले ड्राइ चेरीतर्फ ‘ए’ ग्रेडको कफीलाई प्रतिकिलो एक सय ४० र ‘बी’ ग्रेडको कफीलाई एक सय रुपैयाँ मूल्य निर्धारण गरेको छ।

व्यापार तथा निजी क्षेत्र विकास आयोजनाको सहयोगमा बोर्डले जीआईएस प्रविधिमा आधारित गरेको सर्वेक्षणअनुसार नेपालमा ११ लाख ९८ हजार पाँच सय ३५ हेक्टर क्षेत्रफलमा कफीखेती गर्न सकिन्छ।

‘यसमध्ये ६१ हजार दुई सय २८ हेक्टरमा अत्यधिक परिमाणमा कफीखेती गर्न सकिन्छ’, लुईटेलले भने। उनका अनुसार हाल नेपालमा करिब चार प्रतिशतको हाराहारीमा मात्रै कफीखेती भइरहेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata