सीएसमसीले सबै संकायकाे शुल्क समायोजन गर्ने

आइतवार, मंसिर २९, २०७६



चितवन । चितवन मेडिकल कलेज (सीएसमसी) ले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने भएको छ । हिजो(शनिवार) विज्ञप्ति जारी गर्दै सीएमसी प्रशासनले सबै शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएको हो ।

पछिल्ला चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजनको मागसहित परीक्षा बहिष्कार गर्दै आएका विद्यार्थीलाई समेत सीएमसीले परीक्षामा सामेल हुन अपिल गरेको छ ।

कलेजले आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलाप शुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन तथा विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न अनुरोध गरेको हो ।

सरकारसँग दुई बुँदे सहमति भए पनि सीएमसीले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीसमक्ष ६ बुँदे प्रतिबद्धता कलेजले व्यक्त गरेको छ । ती प्रतिबद्धता पूरा गर्ने भन्दै विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

मंसिर १० मा सरकार र मेडिकल सञ्चालकबीच भएको दुई बुँदे सहमतिमा एमबीबीएस र बीडीएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क ११ मंसिरबाट नै समायोजन गर्ने उल्लेख थियो ।

शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यद्यपि, चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा रहेको विद्यार्थीले यो सहमति अस्वीकार गरेका छन् ।

एमबीबीएस र बीडीएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीको माग छ ।

कलेजले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेको भन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको बताएको छ । सीएमसीले विश्वविद्यालय तथा सम्बन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी शैक्षिक वर्ष ०७२÷७३ र ०७३÷७४ का हकमा चिकित्सा शिक्षा आयोगले गर्ने सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments