कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या ७ लाख २१ हजार नाघ्यो

बिहिबार, बैशाख ११, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख २१ हजार ९ सय ९६ बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख ५० हजार ६ सय ४८  संक्रमितमध्ये १ लाख ३ हजार ३ सय व्यक्ति निको भइसकेका छन् ।

चीनमा ८२ हजार ७ सय ९८ संक्रमतिमध्ये ७७ हजार २ सय ७  बिरामी उपचारपछि घर फर्किसकेका छन् भने  ६३ जनाको अवस्था मात्र गम्भीर रहेको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार ३ सय  नाघेको छ । जसमध्ये ८५ हजार ९ सय बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८४ हजार बढी व्यक्ति संक्रमणबाट मुक्त भएका छन् । त्यहाँ संक्रमितको संख्या सबैभन्दा बढी ८ लाख ४९ हजार नाघेको छ ।

इटालीमा ५४ हजार ५ सय बढी , फ्रान्समा ४० हजार ६ सय बढी, इरानमा ६३ हजार १ सय बढी, ब्राजिलमा २५ हजार ३ सय बढी, स्विटजरल्याण्डमा १९ हजार ९ सय बढी , टर्कीमा १६ हजार ४ सय बढी, क्यानाडामा १३ हजार ९ सय बढी संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

दक्षिण एसियाकाे भारतमा ४ हजार ३ सय, पाकिस्तानमा २ हजार, बंगलादेशमा ९२, अफगानिस्तानमा १६६, श्रीलंकामा १०५, माल्दिभ्समा १६, नेपालमा ७ र भुटानमा २ जना निको भएका छन् ।

गत वर्षको डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाबाट विश्वका २१० का देश प्रभावित भइसकेका छन् । बिहीबार बिहानसम्म २६ लाख ३८ हजार बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये १ लाख ८४ हजार २ सय बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments