च्याउ बिक्रीबाट चार लाख बराबरको आम्दानी

सोमवार, मंसिर २७, २०७३



रामपुर (पाल्पा) । रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर रानाले एक याममा च्याउ बेचेर चार लाख बराबरको आम्दानी गरेका छन् । विदेशबाट फर्केर उनले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेका थिए ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गरेका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गरेका छन् । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उनले व्यवसाय पनि बढाएका छन् ।

सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गरेका रानाले उत्पादन बढ्दै गएपछि पछिल्लो समय विस्तार गर्दै लगेका छन् । अहिले उनले छवटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यसवर्ष झन्डै सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताएका छन् ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले भने ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाउनुभएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थालेका छन् । अहिले प्रतिकिलो २००मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा एक लाख बराबरको लगानी परेको उनको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताए । दिनमा उनले झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री गरेका छन् । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताए ।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata