चुपचाप !

शुक्रबार, फाल्गुन २४, २०७५

- राजु झल्लु प्रसाद



—“चुपचाप”—

बोक्सी भनेर मलमुत्र खुवाइयो,
बालविवाह गराइयो,
दाइजोको निउँमा बुहारी जलाइयो,
इच्छा विपरीत गर्भपतन गराइयो,
– सामाजिक संकिर्णताको कारण लैंगिक समानताका नारा चुप लागे !

यौन हिंसा भयो,
घरेलु हिंसा भयो,
शैक्षिक विभेद भयो,
श्रम विभेद भयो,
लैंगिक विभेद भयो,
पत्रीकाहरु बोलिरहे
रेडियोहरु कराइरहे
– सामाजिक मुखौटाको कारण परिवार चुप लाग्यो !

छाउपडी प्रथा,
देउकी प्रथा,
कुमारी प्रथा,
देवि प्रथा,
पन्चकन्या प्रथा,
धडिचा प्रथा,
– धर्म, दर्शनका कारण नारी स्वतन्त्रताको पर्चा चुपचाप रहेँ !

प्रजनन अधिकार हनन भयो अरे !
शारीरिक यातना दिइयो अरे !
दास बनाइएछ है ?
बलात्कार नै गरियो नि !
हत्या नै पो गरिएछ !
– महिला अधिकारकर्मीहरुले अन्तरक्रिया गरे, गोष्ठी गरे ! …चुपचाप फर्किए !

बुहारीले सासू कुटि,
आमा – छोरी बिच अन्तरविरोध भयो,
देउरानी जेठानी बाझाबाझ गरे,
दिदी बहिनी कुटाकुट गरे,
माइजू विधुवा होइन,
भाउजुले सौता भित्राइन,
….सामाजिक सुरक्षा मुकदर्शक बनिदियो !

चुलोचौको,
भान्छाभकारो,
चुरा र पोते,
फरिया र पाउजु,
महिलाको पर्यावाची शब्द हुन भनियो, शब्दकोष चुपचाप लाग्यो ।

कुल पुजा गर्नु हुन्न, हवस।
हलो जोत्नु हुन्न, हवस् ।
फर्सी काट्नु हुन्न, हस् ।
मलामी जानू हुन्न, ह..!
नछुने बार्नुपर्छ,…!
पोथी बास्नु हुन्न,…!

ओह ! म अझै पनि बोलिरहेछु !
म पुरुष आज पनि बोलिरहेछु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank