काठको खोर थापेर चितुवा नियन्त्रणमा

बिहिबार, पुस १०, २०७६



तनहुँ । तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो ।

उक्त पोथी चितुवा ६/७ वर्षको र ३०/३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिनेछ ।

चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।

भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको आतङ्क बढ्न थालेको स्थानीयवासी बताउँछन् । भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेको छ ।

त्यस्तै केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments