चिनियाँ विदेशमन्त्रीको व्यस्तता : द्विपक्षीय वार्तादेखि प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेट पनि आजै

सोमवार, भदौ २३, २०७६



काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी हिजो (आइतबार) साँझ काठमाडौं आइ पुगेका छन् । पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमार्फत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका थिए ।

उनी शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय विदेशमन्त्री स्तरीय बैठकमा सहभागी थिए । त्यहाँबाट नेपाल आएका उनको साथमा चिनियाँ विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष देङ बोकिङ, दक्षिण एसिया डेक्स हेर्ने अधिकारी पनि नेपाल आएका छन् ।

वाङले तीन दिने नेपाल भ्रमणका क्रममा उच्च स्तरको राजनीतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनी आज अपरान्ह ३ः३० बजेदेखि करिब १ घण्टा आफ्ना नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग दुईपक्षीय वार्तामा सामेल हुनेछन् ।  याक एण्ड यति होटलमा हुने सो बैठकपछि दुवै पक्षका प्रतिनिधिबीच केही विषयमा सम्झौता पनि हुने जनाइएको छ ।

सोमबार नेपाल र चिनियाँ पक्षबीच मन्त्रीस्तरीय वार्ता हुने तय भएको छ । वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव हुनेछन् ।

परराष्ट्र मन्त्रालयको कार्यक्रम तालिकामा जनाइएअनुसार उनी ५ देखि ५ः४५ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा हुनेछन् भने ६ बजेबाट करिब ४० मिनेट उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीद्वारा आयोजना गरिने रात्रिभोजमा सामेल हुनेछन् ।

उनले भोलि(मंगलबार) बिहान ९ बजेबाट आधा घण्टा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यस लगत्तै आधा घण्टा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । उनी भोलि दिउँसो १ बजे स्वदेश फर्किनेछन् ।

वाङ २०७२ सालमा महाभूकम्पपछि आयोजित दाता सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । वाङको भ्रमणलाई कार्तिकमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारी ठानिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata