कोरोना भाइरसः राष्ट्रपति सीद्वारा अस्पतालको निरीक्षण भ्रमण

मङ्लबार, माघ २८, २०७६



चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस संक्रमित बिरामीहरुको बेइजिङमा उपचार गरिरहेका चिकित्सक कर्मचारीसँग भेट गरेका छन् । प्रकोपका माझ उनले दुर्लभ खालको सार्वजनिक उपस्थिति जनाएका हुन् ।

राष्ट्रपति सीले मुखमा मास्क लगाएर सामुदायिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरेका थिए । कोरोना भाइरसका कारण हालसम्म एक हजार १६ जनाको मृत्यु भइसकेको छ । यो सन् २००२/०३ मा भएको सार्सको महामारीका कारण देखापरेको स्वास्थ्य संकटका कारण मृत्यु हुनेभन्दा बढी संख्या हो ।

आफ्नो भ्रमणका क्रममा राष्ट्रपति सीले भाइरससँग जुध्नका लागि ‘थप निर्णायक उपायहरू’ चाल्न अपिल गरे ।
अन्तर्राष्ट्रिय चिकित्सकहरूको विज्ञ टोली कोरोना भाइरसको प्रकोपबारे अध्ययन गर्न चीन पुगेको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सही प्रश्नको जवाफ खोज्नका लागि चिनियाँ विज्ञहरूलाई सो टोलीले सघाउने बताए ।

उनले थप विज्ञहरू जति सक्दो चाँडो आइपुग्ने पनि आशा व्यक्त गरे । तर संगठनका प्रमुखले चीनमा नपुगेका मानिसहरूमा पनि सो भाइरस सरेको विषयमा चिन्ता व्यक्त गरे ।

कोरोना भाइरसको प्रकोप खराब हुँदै गएका बेला विगतका साताहरूमा राष्ट्रपति सीले यस्ता भ्रमणहरू गरेका थिएनन् ।

पहिलोपटक भाइरस देखापरेको वुहानमा भने उनले भ्रमण गर्न बाँकी नै छ । भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेको तर पछि चुप लगाइएका डाक्टरको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायहरूप्रति तीव्र आक्रोस र शोक व्यक्त गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments