१४ वर्षपछी सी जिनपिङ उत्तर कोरिया प्रस्थान

बिहिबार, असार ५, २०७६



एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया प्रस्थान गरेका छन् । भ्रमणका क्रममा राष्ट्रपति सीले उत्तर कोरियाली नेता किम जोङ–उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको समस्याका विषयमा छलफल गर्ने कार्यक्रम रहेको  छ ।

चौध वर्ष अघि तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए । सन् २००५ पछि पहिलो पटक चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा निस्किएका हुन् ।

सन् २०१२ मा सत्ता सम्हालेका सीले हालसम्म छिमेकी राष्ट्र उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । किमले पछिल्ला दुई वर्षमा चारपटक चीनको भ्रमण गरे पनि चिनियाँ नेताको उत्तर कोरिया भ्रमण भएको थिएन ।

पछिल्लोपटक सन् २००५ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्योङयाङको भ्रमण गरेका थिए । सीको भ्रमणले राष्ट्रसंघले परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि लगाएको प्रतिबन्धमा साथ दिएपछि बिग्रिएको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।

जापानमा हुन लागेको जी–२० शिखर सम्मेलनअघि सीको उत्तर कोरिया भ्रमणलाई महत्वसाथ हेरिएको छ । सीले सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरिएको छ ।

उत्तर कोरिया जानुअघि राष्ट्रपति सीले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा सीको भ्रमण हुन लागेको हो ।

भ्रमणमा निस्किनुअघि राष्ट्रपति सिको एक लेख उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा प्रकाशित समेत भएको छ । सीले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफू दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जान लागेको उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata