नेपालमा रेलमार्ग जोड्न तिब्बत तीव्र इच्छुक

'जब दुई मुटु नजिक हुन्छन् तब अग्ला पहाडहरुको कुनै डर हुँदैन ।’- चिनियाँ नेता छी

शनिबार, जेष्ठ ३२, २०७६



चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए  ।

विभिन्न ५७ राष्ट्रका ६९ जना विशेषज्ञ सहभागी रहेको सो मञ्च अप्रत्यक्ष रुपमा चीन नेपाल सहकार्यमा केन्द्रितजस्तो देखिन्थ्यो । अन्य देशका विज्ञले पनि बिआरआईमा तिब्बतको भूमिका शीर्षकमा बोल्दा प्राय सबैले नेपालको प्रसंग उठाएका थिए । सबैको भनाइको निचोड चिनियाँ रेललाई हिमालय पार गराएर नेपाल पुर्याउनुपर्ने भन्ने थियो ।

नेता छीले पनि सिगाच्छे पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए । नेपालसँगको मित्रतालाई तिब्बती नेता छीले निकै साहित्यिक तरिकाले व्यक्त गरे । उनले भने, ‘जब दुई मुटु नजिक हुन्छन् तब अग्ला पहाडहरुको कुनै डर हुँदैन ।’ यही भावनामा रहेर यही वर्षको शुरुदेखि चिनियाँ सार्वजनिक कल्याण संस्थाले नेपालका प्राथमिक तहका विद्यार्थीलाई झोला र अन्य सामग्री वितरण गरेको उनले बताए ।

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए । लार्चा सुक्खा बन्दरगाह तयार भएको र केरुङमा पनि सुक्खा बन्दरगाह बनाउने उल्लेख गर्दै नेता छीले नेपालको पूर्वाधार विकासमा चीनले लगातार सहयोग गर्दै जानेमा जोड दिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank