नेपालमा लगानी गर्न चिनियाँ बीमा कम्पनीको अड्को

शनिबार, कार्तिक २४, २०७५



काठमाडौं । सरकारी स्वामित्वको चिनियाँ बीमा कम्पनी साइनोस्योरको संशयले नेपालका जलविद्युत् परियोजनामा चिनियाँ लगानी रोकिएको छ। नेपाली ऊर्जा उत्पादकहरूले चिनियाँ कम्पनीहरूसँग नेपालमा जलविद्युत् उत्पादनका लागि गरेको समझदारी कार्यान्वयन हुनेमा आशंका बढेको छ ।

सरकारी स्वामित्वको चिनियाँ बीमा कम्पनी चाइना एक्सपोर्ट एण्ड क्रेडिट इन्स्योरेन्स कर्पोरेसन (साइनोस्योर) ले नेपालमा गरिने लगानी फिर्ता हुने सुनिश्चितता नरहेको आफ्नो रिपोर्टमा उल्लेख गरेपछि त्यहाँका कम्पनी यहाँ लगानी गर्नबाट हच्किएका छन् ।

यसै कारण हुनुपर्छ, ईपीसीएफ (इन्जिनियरिङ, खरीद, निर्माण तथा फाइनान्स) र अन्य मोडलमा निर्माण समझ्दारी गरिएका करीब डेढ दर्जन परियोजनाको काम अघि बढ्न सकेको छैन ।

साइनोस्योरले विदेशमा लगानीको जोखिम र सुरक्षा लेखाजोखा गरिएको ‘सोभरन रिस्क रिपोर्ट’ जारी गर्दै आएको छ । उसले नेपालमा गरिने लगानी फिर्ता हुने सुनिश्चितता नभएको भन्दै चिनियाँ कम्पनीले गर्ने लगानीको बीमा गर्न इन्कार गरेको स्वदेशी ऊर्जा उत्पादकहरू बताउँछन् ।

“त्यसै कारण लगानी भित्रिइरहेको छैन” जलविद्युत् प्रवद्र्धक गुरु न्यौपाने भन्छन्, “सरकारले लगानीको सुनिश्चितता नगर्दासम्म जलविद्युत्मा चिनियाँ लगानी आउने सम्भावना छैन ।”

जलविद्युत् लगानीकर्ताहरूका अनुसार, चिनियाँ कम्पनीहरूले नेपालमा लगानी गर्न नेपाल सरकारबाट ‘सोभरन ग्यारेन्टी’ अर्थात् लगानी सुरक्षाको सरकारी प्रत्याभूति एवं फिर्ता लैजाने सम्बन्धी सुनिश्चितता खोजिरहेका छन् ।

त्यसो हुनसके मात्रै नेपालका जलविद्युत् परियोजनाहरूमा हुने लगानीको साइनोस्योरले बीमा गर्ने लगानीकर्ताहरू बताउँछन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईं भन्छन्, “विदेशमा हुने लगानीको बीमा गर्ने सरकारी कम्पनीले नै संशय राखेका कारण चिनियाँ कम्पनीहरूले लगानी गर्न आनाकानी गरेका हुन् ।”

उनका अनुसार, करीब २० वटा जलविद्युत् उत्पादक कम्पनीले विभिन्न चिनियाँ कम्पनीसँग परियोजना निर्माणको सम्झौता गरेका छन् । कतिपय कम्पनीले यस्तो समझदारी सार्वजनिक गरेका छन् भने केहीले गोप्य राखेका छन् ।

गएको असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला पनि विभिन्न कम्पनीहरूबीच यस्ता सम्झौता भएका थिए । ईपीसीएफ मोडलमा परियोजनाको डिजाइन, इन्जिनियरिङ, उपकरण खरीद, निर्माण तथा वित्तीय व्यवस्थापन सबै सम्बन्धित कम्पनी स्वयंले गर्छ । परियोजना सञ्चालन शुरू भएपछि प्रवद्र्धक कम्पनीले भुक्तानी गर्दै जानुपर्छ । हिमालखबरबाट

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank