२० भारतीय तीर्थयात्रीलाई चीन सरकारले प्रवेशाज्ञा दिएन

बिहिबार, जेष्ठ ९, २०७६



एजेन्सी । धरतीको केन्द्र मानिने चिनको पुलाङ्ग काउण्टीमा रहेको  कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको सिमकोट पुगेका २० भारतीय तीर्थयात्री  बुधबार फिर्ता भएका छन् ।  भारतको महाराष्ट्र प्रदेशबाट सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि  सिमकोट पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपरेको हो ।

प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा पठाएको भए पनि दूतावासले ५५ लाई मात्र कैलाश मानसरोवर दर्शनको प्रवेशाज्ञा दिएको छ । सिमकोट पुग्दा दर्शन गर्न जानका लागि चिनियाँ दूतावासले प्रवेशाज्ञा नदिँदा दुःख लागेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले जानकारी दिएका छन् ।

“हामीले दुःख मात्र पायौँ, बल्लतल्ल कार्यालयको समय मिलाएर कैलाश मानसरोवर दर्शनका लागि आइयो तर प्रवेशाज्ञा पाउन सकेनौँ ।”, भारतीय तीर्थयात्री रेशमले बताए ।

शनिबारदेखि बुधबारसम्म हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३०३ महिला र ३५९ पुरुष गरी ६९२ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । तीर्थयात्रीको चाप बढेपछि सिमकोट–हिल्साका लागी दुई वटा सिम्रिक, दुईवटा समीट र एउटा माउन्टेन गरी पाँच हेलिकप्टरले बिहानदेखि बेलुकासम्म उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

दुई हजारले लिए सीमा पास:

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट चैत महीनादेखि जेठ पहिलो सातासम्म दुई हजार २५८ जनालाई सीमा पास दिएको छ । यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालय हुम्लाले ९०२ लाई नयाँ सीमा पास दिएको र एक हजार ३५६ जनाको नवीकरण गरेको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा चैत्रदेखि अहिलेसम्म २३३ जनाको नवीकरण र १७० जनाको नयाँ सीमा पास प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिएका छन्  ।

उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयले सीमा पास र नागरिकता पाउन सात देखि आठ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको छ ।

त्यहाँका स्थानीयको समस्यालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय हुम्लाले हरेक वर्ष गाउँमा पुगेर सीमा पास र नागरिकता वितरण गर्दै आएको छ ।

सिमकोट बाहेक सबै क्षेत्रलाई निषेधाज्ञा घोषणा:

नेपाल सरकारले हुम्लाको सिमकोट बाहेक सबै क्षेत्रलाई निषेधाज्ञा घोषणा गरेको छ भने भ्रमण र अध्ययनको लागि सरकारको अनुमति विना कोही कसैलाई हुम्लाको सबै क्षेत्र भ्रमण गर्न नपाउने प्रावधान रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata