छोरा नहुँदैमा के भयो र ?

आइतवार, फाल्गुन २५, २०७६



छोरै किन चाहियो ? छोरी भए हुँदैन ? अझै धेरैले भन्छन्, ‘मर्दा कसले दागबत्ती दिन्छ ? कसले किरिया गर्छ ?’ समय बदलियो। नयाँ पुस्ता बरु पुरानै सोचमा हुँदा मधेसका ज्येष्ठ महिला त्यो धारणा बदल्न कस्सिएका छन्। र, छोरीले अन्त्येष्टि गर्ने क्रम बढेको छ।

आउनुहोस्, ८० वर्षीया शीतलीदेवी साहको यस्तो ‘विद्रोह’ को सम्मान गरौं। जनकपुरधाम–७ जानकी नगरकी शीतलीदेवीका पति सय वर्षीय मुखिया साहको अघिल्लो शनिबार निधन भयो। तीन छोरीकी आमा शीतलीका आफन्त र समाज मुखामुख गर्न थाले, ‘मुखाग्नि कसले दिने ?’

उनीहरूले आफूखुसी निर्णय गरे– भतिजाबाट अन्तिम संस्कार गराउने। तर, शीतलीले मानिनन्। हिम्मतसाथ भनिन्, ‘छोरीहरूले बुवालाई अन्तिम समयसम्म हेरचाह गरे। उनीहरूले दागबत्ती दिन्छन्। उनीहरूले किरिया गर्छन्।’

स्वजातका कथित जान्ने–बुझ्नेले मानेनन्। तिनीहरूलाई नाजवाफ बनाउने गरी उनले निर्णय सुनाइन्, ‘म उहाँको अर्धांगिनी हुँ, मै आगो दिन्छु।’ अन्ततः यसलाई कसैले अस्वीकार गर्न सकेन।

घरमा आइसकेका केही मान्छे यता–उता लागे। मुखियाको शवलाई तीन छोरी बेचनीदेवी, बुधोदेवी, फूलकुमारी र नाति अनुरागले काँधा दिए (बोके)। छोरीहरूले काँधा दिएकै कारण उनका नातेदार जति मलामीमा सहभागी हुनुपर्‍थ्र्यो, त्यति आएनन्।

वृद्धा शीतलीदेवी हातमा गुइँठा (जुन दागबत्ती दिन प्रयोग गरिन्छ) र उतरी (दाहसंस्कारपछि लगाउने लुगा) लिई अगाडि–अगाडि थिइन्। पछाडि उनका सय वर्षीय पतिको शव बोकेर तीन छोरी र एक नाति मसानघाट हिँडेको दृश्यले टोलवासी स्तब्धभन्दा बढ्ता चकित भए। र, मलामी जान तयार भएका धेरै घरभित्रैै छिरेर ढोका लगाए।

जनकपुरका मुखिया साहको पार्थिव शरीर अन्तिम संस्कारका लागि घाटतर्फ लैजाँदै पत्नी ८० वर्षीया शीतलीदेवी र छोरीहरू ।

‘उहाँ एक वर्षदेखि बिरामी हुँदा कोही हेर्न÷भेट्न आएनन्,’ पतिको किरिया बसेकी शीतलीले भनिन्, ‘छोरीहरू यही कोखबाट जन्मिएका हुन्। छोरा नहुँदैमा के भयो र ? उनीहरूले किरिया गर्न किन नहुने ?’

त्यसो त मुखिया साहलाई पनि जीवनको अन्तिम घडीमा चिन्ता त्यही थियो– मलाई कसले दागबत्ती देला ? ‘बुवा अन्तिम अवस्थामा हुँदा मलाई कसले आगो दिने भनेर सधैं बिलौना गर्नुहुन्थ्यो,’ कान्छी छोरी बुधोले आँसु पुछ्दै सुनाइन्, ‘हामी भन्थ्यौं– चिन्ता नगर्नुस्, हामी गर्छौं सबै। र, बुवाको अन्त्येष्टि गर्न पाउँदा आत्मसन्तुष्टि भइरहेको छ।’

त्यही दिन अर्थात् अघिल्लो शनिबार जनकपुरधाम–१९ बेंगाशिवपुरका कृष्णा यादवको ३२ वर्षकै अल्पायुमा मृत्यु भयो। दुई छोरी मात्रै भएका यादवको दाहसंस्कार ९ वर्षीया छोरी रागिनी यादवले गरिन्।

यसअघि धनुषाको सबैला नगरपालिका–२ का ६५ वर्षीय रामनारायण यादवको मृत्यु हुँदा उनका पाँच छोरी नेतुर, राजोदेवी, प्रमिलादेवी, अनितादेवी र गोरकीले बुवाको शवलाई काँधमा बोकेर घाटसम्म पुर्‍याए। रामनारायणको पार्थिव शरीरमा उनकी ६२ वर्षीय पत्नी रवियादेवी यादवले दागबत्ती दिएकी थिइन्।

मधेसमा छोरीले बुवालाई दागबत्ती दिनु निकै साहसिक कार्य रहेको स्थानीय नेता सीताराम यादव बताउँछन्। ‘छोराछोरीप्रति विभेद गर्ने रूढिवादी सोचलाई छोरीहरूले नै निरुत्साहित गर्न थालेका छन्,’ उनले भने, ‘समाज बदलिने यसरी नै हो।’

दाहसंस्कार नै पत्नी र छोरीहरूबाट हुन थाल्नु ठूलो परिवर्तनको उदाहरण रहेको जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साह बताउँछन्। ‘उनीहरू निकै गरिब परिवारका हुन्।

छोरीहरूले पढेलेखेका छैनन्, न त आमा नै। तर, चेतनाको स्तर निकै ठूलो रहेको यो घटनाले प्रमाणित गर्छ,’ शीतलीदेवीको उदाहरण दिँदै वडाध्यक्ष साहले भने, ‘छोराले अन्तिम संस्कार गरेनन् भने मुक्ति नहुने जस्ता विडम्बना पालेर बसेको हाम्रो समाजमा महिलाको यस्तो कदमले विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।’

अन्नपूर्ण पोस्ट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments