छिमेकी

सोमवार, मंसिर २, २०७६



आज बिहानै
घरै छेउको सुकेको रूखमा
कौवा आएर
मै तिर फर्केर
काग, काग गर्दै
तीन पटक मात्रै करायो ।

धाराको छेउमा
उभिएकी मेरी आमाले
सानो सिर्कनो देखाउँदै
कागलाई धपाउन खोजिन
तर कागले
आफ्नो कराउने काम
नसकी डेगै चलेन ।

आमाले म तिर हेर्दै भनिन्-
यो काग
दक्षिण दिशाबाट आयो
दक्षिण नै फर्केर करायो
अनि, दक्षिण पट्टि नै उड्यो ।
बाबु !
छिमेकीले नाकाबन्दी
गर्छ कि ? साँध सिमानामा
झमेला गर्छ कि ?
यस्तो छिमेकी
कस्तो कस्तो ?
बडा अन्योल पो गरायो
आमाले भनेको कुराले
एक महिना नाघेकै थिएन ।

आमाले फेरि भन्न थालेपछि
मेरो मन झसङ्ग झस्कियो
बाबु !
तेल, नुनको जोहो गर
केटाकेटी र पाकाहरूको
औंषधीमुलो खोजी राख है !
दक्षिणतिरको बजारको भरै हुन्न ।

बाबु !
पराहारै चाल पाएकै छस् नि
भूकम्पले थलिएर
उठ्न नसकेको देखिदेखि
खानपान बन्द गरिदिएको
नुन र तेलको मात्रै दु:ख हैन
छेकथुनमा आफ्नैलाई
चेला बनाएर मन्त्र पढाएको ।

बाबु !
छिमेकी पनि
ढङ्ग र रङ्गका हुने गर्छन्
ढङ्गकाले
घरमा अन्नको जोहो नहुँदा
गाँसै बाँडेर खाने गर्छन् रे
अगेनोमा आगोको राप घट्दा
दाउरा थपेर
खानेकुरा पकाइ दिन्छन् रे
अड्को पड्कोमा
परिवारको अपनत्व दर्शाएर
मनग्ये सहयोग गर्छन् रे
मर्दा र पर्दा
साथ र गाँस छोड्दैनन् रे ।

रङ्गका परे भने
साँध सिमाना खप्टेर
साँझ बिहान
कोकोहोलो गर्छन् रे
गतिलो पाहुनो
छिरेको देखे भने
चियो र चर्चा गरेर
गाउँ भरि डकार्छन् रे
बालीनाली र बालबच्चा
सप्रे भने
भुतभुतेले सेक्छन् रे
धनमाल बढ्यो भने
अरिङ्गाल फ्याकीदिन्छन् रे ।

त्यसैले
विचार गरेर व्यवहार गर
साँध सिमानाको निधो गर
दसीप्रमाण हात पार
साक्षीहरू साथैमा राख
बल होइन बुद्धि चलाउनु
पितापुर्खाको ओजस्वी
बल बाहुको आशीर्वाद सम्झनु
कौवाले सङ्केत गर्‍यो
अरू भाइ, छोरा कता छन् ?
टोपी, दौरा र पटुका मिलाऊ

सिरानीको सिरूपाते खुकुरीमा
ताउ लगाउन पठा है ।

सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata