१० वर्षमा १४ किशोरीको छाउगाेठमा ज्यान गयाे

आइतवार, पुस २७, २०७६



त मंसिर तेस्रो साता महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछाम, साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भयो। मेल्लेख गाउँपालिका–७ नन्देगडा, लेकगाउँ आइतबार साँझ खाना खाएर एक्लै छाउगोठमा सुतेकी उनी बिहान मृत अवस्थामा फेला परिन्। बिहान सात बजेसम्म नउठेपछि जेठानीले पार्वतीको नाम लिएर धेरै पटक बोलाइन् ।

तर गोठबाट कुनै प्रतिक्रिया आएन । शंका लागी जेठाजु छत्र रावतले गोठको ढोका फोरेर हेर्दा उनी घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेकी थिइन्। घरभन्दा सय मिटर टाढा रहेको छाउगोठमा उनको मृत्यु हुनुको यकिन कारण पत्ता नलागे पनि रातको समयमा आगो बालेर सुतेकाले निसासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अकालमै मृत्यु हुने पार्वती मात्र होइनन्, उनीभन्दा पहिले पनि अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन् । अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ।

यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिनाका लागि ज्यानमारा धरापसरह थिए। विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन्।

जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ। छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए। परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन्।

छाउपडी प्रथा मान्ने गलत संस्कारको कारणले गाज्राकी १५ वर्षीया छोरी रोशनीलाई गोठमै गुमाएको तीन वर्ष पुगेको छ। आफूसमेत सुतेको बेला निसासिएर झन्डै ज्यान गएको रोशनीकी आमा दिलु तिरुवाले बताइन्।

‘महिनावारी भएका बेला बस्ने छाउगोठ हाम्रालागि कालको घरजस्तै हुन्,’ उनले भनिन्, ‘घर–परिवारले नमान्दा छाउगोठमा त्यहाँ सुत्नुपर्ने बाध्यता छ।’ त्यही छाउपडी गोठमा २०७३ पुस ३ गते छोरीको मृत्यु भएपछि गोठ भत्काएर केही समय घरमा सुतेको उनले बताइन्।

‘छोरीको गोठमै ज्यान गएपछि दुई–तीन पालो महिनावारी हुँदा घरकै एउटा कोठामा बसेकी हुँ तर पछि सासुले नमान्दा पुनः गोठमा बस्नुप¥यो,’ उनले भनिन्, ‘सासुले घरमा बस्न कुनै पनि हालतमा नदिएपछि उहाँको चित्त दुखाएर बस्न सकिएन।’

अहिले प्रहरीले छाउगोठ भत्काउन थालेपछि भने ज्यानमारा छाउगोठमुक्त हुने कुराले स्थानीय महिला खुसी छन्। ‘अहिले सबैतिर छाउगोठ हठाउँदै छन्, अब हामीलाई सहज हुने भयो,’ उनले भनिन्।

कमलबजार नगरपालिका–६ बिरपथका भगवती ढकालले पतिले महिनावारी हुँदा घरमै बस्न भने पनि गाउँ–समाजको डरले गोठमै सुत्न परेकोमा छाउगोठ भत्काउँदा खुसी लागेको बताइन् ।

भगवतीकी सासु डिक्रादेवी ढकालको २०६७ माघमा गोठमा सुतिरहेको बेला मृत्यु भएको थियो। ‘सासुको गोठमै ज्यान गएकाले छाउगोठमा एक्लै सुत्नुपर्दा डर लाग्थ्यो,’ उनले भनिन्, ‘छाउगोठ हटाएपछि खुसी लागेको छ।’ आमाको छाउगोठमै अकालमा मृत्यु भएको र छाउगोठ हटाउने अभियान राम्रो भएको डिक्राका छोरा झनक ढकालले बताए।

सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देसिका २०६४ समेत जारी गरिएको थियो। सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दासम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन। राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा–पत्रमा, नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ महिला अधिकारमा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिलामाथि हिंसा तथा भेदवाव गर्न नपाइने व्यवस्था गरिएको छ।

शारीरिक, मानसिक तथा सुरक्षाका हिसाबले पनि महिनावारी भएको समयमा महिलालाई झनै सुरक्षित स्थानमा बस्न दिनुको सट्टा धार्मिक कारण देखाउँदै असुरक्षित रूपमा गोठमा राख्ने गलत परम्पराले जरा गाडेकाले महिलाहरू हिंसाको सिकार बनिरहेका छन्। नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments