झुपडीको त्यो छठ, पक्की घरको यो छठ

मङ्लबार, कार्तिक २७, २०७५



काठमाडौं  । चन्द्रपुर नगरपालिकास्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाएको नमुना बस्तीबासी अहिले छठको स्वागतमा जुटेका छन् । अतिविपन्न तथा पछाडि परेका समुदायको बसोबास रहेको उक्त बस्तीमा यस वर्ष यस वर्ष उनीहरुको जीवनकै सबैभन्दा उल्लासमय हुँदैछ छठ पर्व ।

झुपडीमा जिन्दगी बिताउँदै आएकाहरु पक्की घरमा बसेर पहिलो पटक छठ मनाउन पाउँदा खुशीले गदगद छन् । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा रहेको एकीकृत नमुना सन्तपुर बस्तीमा ४७ परिवार छन् । मध्ये २९ परिवार मुसहर जातिका छन् । पासवान, ठाकुर, चौधरी लगायत जातिको बसोवास रहेको बस्तीमा जीवनमा नदेखिएको खुशी यस वर्षको छठमा देखिएको छ ।

बस्तीकी १०७ वर्षीया रामकलिया देवी हजराले भनिन्, ‘जीवनमा पक्कीघरमा बसेर पर्व मनाउन पाइएला भन्ने सोचेकी थिइनँ, तर धुर्मुस–सुन्तली ‘भगवान’ बनेर नसोचेको कुरा पुरा गरिदिए ।’

वृद्धा हजरा नातिसँग बस्छिन् । उनीहरुले धुर्मुस–सुन्तलीको तस्बिर मुलढोको छेउमा फ्रेममा राखेर टाँसेका छन । उनीहरुको फोटोलाई रामकलिया दिनहुँ नमस्कार गर्छिन् । वृद्धा हजाराले मात्र होइन, बस्तीका सबैले धुर्मस–सुन्तीलको फोटो मुलढोकामा राखेको नमुना बस्ती सुधार समितिका संयोजक सत्यनारायण माझी मुसहरले बताएका छन् ।

बस्तीका सबैले यस वर्ष धेरै खुशीका साथ छठपर्व मनाइरहेका छन् । सोमवार तराई मधेसमा मनाइने छठपर्वको दोस्रो दिन खरना मनाइँदै छ । राति खीर अर्थात खरना चढाएपछि त्यही खीर प्रसादकारुपमा खाने चलन छ ।

बस्तीका सबै घरमा खरना पकाइँदैछ । बस्तीका २९ परिवार मुसहरहरु अझ धेरै खुशी छन् । रामजी माझी मुसहरले भने, ‘हामी छठपर्व धेरै खुशीका साथ मनाउँदै छौँ । बस्तीका धेरैजसो घरमा आफुले सकेको खर्च गरेर झिलिमिली पारेका छौँ ।’

मुलगेट, मन्दिर, सामुदायिक भवन र भ्युटावर सिँगारिएको छ । बस्तीको फोहर व्यवस्थापन गरेर सफा बनाएका छन । बस्तीको ७ नम्बर घर पाएका उमेश माझी मुसहर भन्छन्, ‘यति खुशी कुनै पर्वमा आएको थिएन । पहिले झुपडीमा बत्तीसमेत बाल्न समस्या थियो, अहिले बस्ती नै झिलिमिली छ ।’

सयवर्ष भन्दा बढी समयदेखि उक्त स्थानमा बस्दै आएका मुसहरहरुको जमिन थिएन । भएको २ धुर ४ धुर जमिनमा झुपडी थियो । बिहान बेलुका छाक टार्न पनि समस्या थियो । बर्षामा बाढी र डुवानको चिन्ता, हिउँदमा शीतलहरको समस्याले उनीहरु पीडित थिए ।

अहिले पक्की घर पाएपछि उनीहरु ढुक्क छन् । उनीहरुले छठपूजाका लागि बस्ती नजिकैको नहरको डिल सजाएका छन् । अन्नपूर्णपोष्टबाट

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank