छरुवा धानखेतीप्रति किसानको आकर्षण

बुधबार, असार १३, २०७५



कञ्चनपुर ।

थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि बेलौरीका किसान छरुवा धानखेती प्रविधि अपनाउन थालेका छन् ।

डेढ बिघा खेतमा चार वर्षदेखि छरुवा विधिबाट धानखेती गर्दै आएका बेलौरी नगरपालिका–६ का खडक चौधरी रोप्ने विधिभन्दा छरुवा धानखेती प्रविधिबाट बढी उत्पादन लिन सकिने बताउछन् । बेर्ना जोगाउन धौ धौ पर्ने तथा मजदूर नपाउँदा रोपाइँ गर्न ढिलो हुँदा चाहेजस्तो उत्पादन लिन नसकिने उनले बताए ।

खेतमा चिस्यान कायम गर्न एकपटक सिँचाइ गरी दुईपटक खेतलाई जोतेर सिडड्रिलको सहायताले एकैसाथ मल र बीउ छरेर खेती गर्दा लागत खर्च कम आउने र उत्पादनमा वृद्धि हुने चौधरीको भनाइ छ । जिरो टिलेज प्रविधिमा आधारित भई छरुवा धान प्रविधि अपनाउँदा झारपातको समस्या देखिन थालेपछि दुईपटक जोतेर किसानले छरुवा धान विधिलाई अपनाउन थालेका हुन् ।

“छरुवा प्रविधि अपनाई खेती गर्दा खर्च कम आउने गरेको छ,”उनले भने ।

छरुवा विधिमा बढी उत्पादन दिने बिआर ११३, राधा ४ र सुक्खा धानको खेती किसानले गर्दै आएका छन् । कृषि विकास शाखाका प्राविधिक हरिश सेटीका अनुसार बीउ, मल र विषादी अनुदानमा उपलब्ध गराउँदैआएको छ ।

अनुदान पाएपछि किसान उत्साहीत

लालझाडी गाउँपालिका कार्यालयले व्यावसायिक खेती गर्नका लागि आधुनिक कृषि उपकरण र अनुदान उपलब्ध गराएपछि किसान उत्साहित बनेका छन् । उखु, बगरखेती र व्यावसायिक तरकारी खेती गर्न उनीहरु उत्साहित देखिएका हुन् ।

लालझाडी गाउँपालिका– ३ का रामप्रसाद चौधरीले अनुदान पाएपछि दोदा नदीको डेढ बिघा जग्गामा लौका, फर्सी, काँक्रा, तरभुजालगातका तरकारी रोपेर तीन महिनामा रु दुई लाख ५० हजार आम्दानी गरे । कृषि शाखाले बगरमा व्यावसायिक तरकारी खेती गर्ने २० किसानलाई तालीमसँगै रु एक लाख अनुदान उपलब्ध गराएको थियो ।

लालझाडी गाउँपालिका– ६ का गौरीदेवी चौधरीले पाँच कट्ठा जग्गामा तरकारीखेती गरी रु एक लाख ६० हजार आम्दानी गरे । अनुदान पाएपछि उनले बाह्रैमास तरकारी फलाउन थालेका छन ।

गाउँपालिकाको कृषि शाखाका प्रमुख एकराज वलीका अनुसार कार्यालयले रु ५० लाख ७१ हजार परिचालन गरेको छ ।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank